वर्षेनी बढ्दै विप्रेषण, राष्ट्रिय अर्थतन्त्रमा कति छ योगदान

काठमाडौं । मुलुकको अर्थतन्त्र धान्ने प्रमुख स्रोत बनेको विप्रेषण (रेमिटयान्स) आप्रवाह वर्षिने बढ्दै गएको तथ्यांक रहेको छ । वार्षिक अर्बों रुपैयाँ बराबरको विप्रेषण आप्रवाह हुदाँ पछिल्लो ४ वर्षमा भने १४ खर्ब ४५ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक ३ खर्ब ६१ अर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ विप्रेषण भित्रिएकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा यसको वृद्धिदर ५०.३८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा १३ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २२.८ प्रतिशत र गत आर्थिक वर्षमा २०.२४ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । विप्रेषण आप्रवाह जीडीपीको अनुपात आर्थिक वर्ष २०७८/७९ मा २० .२४ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा २२.८२ प्रतिशत थियो ।  रेमिट्यान्स आप्रवाह बढ्दा मुलुकको अर्थतन्त्र चलायमान बन्न भने मद्दत पुगेको छ ।वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाह बढ्ने गर्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने मध्ये दक्ष जनशक्तिको संख्या बढ्दै जाँदा त्यसको प्रभाव विप्रेषणमा समेत परेको विज्ञहरु बताउछन् ।

मुलुकमा पर्याप्त रोजगारी नभएका कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेका छन् । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक भने मलेसिया र खाडी मुलुकहरु रहेका छन् त्यसका अलवा जापान, कोरिया र युरोपेली मुलुकहरुमा जान थालेको श्रम मन्त्रालयका अधिकारीहरु बताउछन् । वैदेशिक रोजगारीका लागि जाने क्रममा गत आर्थिक वर्षमा ७ लाख ४१ हजार ३९७ जना, आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना, आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना र आर्थिक वर्ष २०७७/७८ मा ७२ हजार ८१ जना श्रम स्वीकृति लिएका थिए । युवा जनशक्ति मुलुकमा परिचालन गरी आर्थिक लाभ लिनु पर्नेमा उनीहरुलाई बाहिर पाठाएर विप्रेषणमार्फत् मुलुक सञ्चालन हुनु दुखद कुरा भएको विज्ञहरु बताउछन् । यद्पि विप्रेषणका आप्रवाहका कारण शोधानन्तर स्थिति, चालू खाता र विदेशी विनिमय सञ्चिति सकारात्मक रहेको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार