दशैं अघि बिपी राजमार्ग सञ्चालनमा नआउने, वैकल्पिक सडक प्रयोग गर्न भौतिक मन्त्रालयको आग्रह

काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने बिपी राजमार्ग दशैं अघि सञ्चालनमा नआउने भएको छ ।

गत असोज ११ र १२ गते अबिरल वर्षाका कारण आएको बाढीपहिरोबाट बिपी राजमार्ग क्षतविक्षत बनेको थियो । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले दशैं अघि बिपी राजमार्ग सञ्चालनमा नआउने जानकारी दिएका हुन् ।

भौतिक मन्त्रालयले बुधबार क्षतविक्षत बिपी राजमार्गको अनुगमन गरेको थियो । उक्त अनुगमनको क्रममा चौकीडाँडा–कालुढुंगा १८ किलोमिटर खण्डमा क्षति पुगेको छ । सो खण्डको करिब १२ किलोमिटर सडक पूर्णरुपमा बढेको छ । सडक बढेसँगै सो खण्ड भएर गुड्न करिब चार सय सवारी साधन उक्त क्षेत्र आसपास रोकिएका छन् ।

‘बिपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । १२ किलोमिटर सडक खण्ड पूर्ण रुपले बगेकाले सडक मर्मत गरेर तत्काल सवारी सञ्चालन गर्न सकिने अवस्था छैन । यसका लागि समय लाग्द छ । बहाव बढी भएकाले नदि किनारमा डाइभर्सन गर्न पनि तत्काल सम्भव देखिएको छैन,’ उनले भने ।

बिपी राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधि सहयोगमा निर्माण भएको हो । यो सडक आर्थिक वर्ष २०५३/५४ मा निर्माण सुरु गरिएको थियो । २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन जापानी येन लागतमा निर्माण भएको थियो ।

हाल क्षतविक्षत सडकको मर्मत सम्भारका लागि पनि जापान सरकारको सहयोग लिने योजनामा भौतिक मन्त्रालय रहेको छ । यसले गर्दा सडक तत्कालन निर्माण हुने अवस्था छैन । यदि नेपाल सरकारले आफैले सडक मर्मत गर्ने हो भने ठेक्का प्रक्रियाले गर्दा लामो समय लाग्ने निश्चित देखिन्छ ।

तत्काल बिपी राजमार्ग पूर्ण रुपमा मर्मत सम्भार गर्न सम्भव नभए पनि गाडी सञ्चालन गर्न सकिने गरी बाटो बनाउन सकिने सचिव शर्माले जानकारी दिए । जापन सरकारले सडक निर्माण गर्दा पनि नदी किनारमा डाइभर्सन गरेर गाडीहरु सञ्चालन गरिएका थिए । अहिले पनि सो विकल्पमा काम गर्न सकिने उनले बताए । तर हाल नदीको बहाव उच्च छ । दशैं सुरु भइसकेकाले तत्काल बिपी राजमार्ग सञ्चालनमा ल्याउन सडक विभागसँग प्रयाप्त समय छैन।

बहाव कम भएसँगै नदीमा डाइभर्सन गरेर अस्थायी रुपमा राजमार्ग सञ्चालनमा ल्याइने छ । दशैं नजिकएकाले उक्त खण्ड भएर यात्रा गर्ने यात्रुहरुलाई सचिव शर्माले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यसम्म पुग्न पत्रकार सम्मेलन मार्फत अनुरोध गरे ।

वैकल्पिक सडकको रुपमा पूर्वी पहाडी जिल्लाकाले खिम्ती–मन्थली र मध्यपहाडी राजमार्ग तथा पूर्व तराईकाले पूर्व–पश्चिम राजमार्ग र मदन मण्डारी राजमार्ग प्रयोग गर्न सक्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार