निर्यात व्यापारमा गलैंचा, चिया र अलैंचीको वर्चस्व

काठमाडौं । सरकारले निर्यात व्यापारका लागि विभिन्न नीतिहरु निर्माण गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा निर्यात व्यापारमा परिवर्तन हुन सकेको छैन । निर्यात व्यापारको प्रमुख सामग्री बन्न पुगेको गलैंचा, चिया, अलैंची र र्यान लगायतका सामग्रीहरुले नै हाम्रो निर्यात व्यापार धानेको देखिन्छ ।
लामो समयदेखि निर्यात व्यापारको प्रमुख सामग्रीको रुपमा गलैंचा, चिया र यार्न रहेका छन् कहिले काहीँ परिवर्तन अर्थात् थोरै तलमाथि भए पनि मुख्य निर्यात सामग्री भने यी नै रहेको भन्सार विभागका निर्देशक मुक्ति प्रसाद श्रेष्ठले जानकारी दिए ।

विभागका अधिकारीहरुका अनुसार विदेशमा समेत उच्च माग रहेको र हामीले राम्रो उत्पादन दिन सक्दा ती वस्तुहरुको निर्यात व्यापार पनि राम्रो रहेको हो । विभिन्न समयमा अन्य उत्पादन तथा निर्यात व्यापारको शीर्ष स्थामा रहे पनि अधिकांश जस्तो समयमा गलैंचा, चिया र अलैंचीको निर्यात व्यापारमा मुख्य योगदान रहने गरेको छ । जस्तो केहि वर्ष पाम तेल निर्यात व्यापारको शीर्ष स्थानमा रहे पनि पछिल्लो समय यसको माग कम रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष ०७५/७६ मा १० अर्ब ३३ करोड, आर्थिक वर्ष ०७६/७७ मा १८ अर्ब ३१ करोड पाम तेल र आर्थिक वर्ष ०७७/७८ मा ५३ अर्ब ६५ करोडको सोयविन तेल निर्यात भएको छ । सोहि वर्ष अर्थात् आर्थिक वर्ष ०७५/७६ मा गलैंचा ७ अर्ब ३६ करोड ९६ लाख, चिया ३ अर्ब ९ करोड १३ लाख , र्यान २ अर्ब ८६ करोड ११ लाख र अलैंची २ अर्ब ७१ करोड ४९ लाख बराबरको निर्यात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा गलैंचा ६ अर्ब १५ करोड ७७ लाख, चिया २ अर्ब ५९ करोड २१ लाख , र्यान २ अर्ब ७७ करोड ३४ लाख र अलैंची २ अर्ब ५३ करोड ९५ लाख बराबरको निर्यात भएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा गलैंचा ७ अर्ब २४ करोड ४० लाख, अलैंची ७ अर्ब १ करोड ८ लाख, चिया ३ अर्ब ५५ करोड ३२ लाख , र्यान २ अर्ब ९६ करोड ६३ लाख बराबरको निर्यात भएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा निर्यात व्यापारको पहिलो र दोस्रो स्थानमा रहको क्रमशः गलैंचा १० अर्ब ५७ करोड २४ लाख र अलैंची ७ अर्ब ९३ करोड ८१ लाख र यार्न ४ अर्ब २८ करोड ३५ लाख र चिया ३ अर्ब ३४ करोड १८ लाख बराबरको निर्यात भएको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि गलैंचा २ अर्ब ८५ करोड ३९ लाख, चिया १ अर्ब ७२ करोड ८७ लाख , यार्न १ अर्ब २८ करोड ५३ लाख र अलैंची १ अर्ब २६ करोड २१ लाख बराबरको निर्यात भएको छ ।

गलैंचा, चिया र अलैंची सँग सँगै पाम तेल, सोयविन तेल, फलाम तथा स्टिलजन्य सामग्री, जुस, कुकुर बिरालो आहारा लगायतका उत्पादनहरु निर्यात व्यापारको प्रमुख हिस्सा बन्दै आएका छन् । सरकारले सहजीकरण गरेमा गलैंचाका साथै अन्य उत्पादनहरुको निकासी बढाउन सकिने गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङले बताए ।

उनले गलैंचामा दिदै आएका सहुलियत समय–समयमा अवरोध हुदै आएको छ सो समस्या समाधान गर्नु आवश्यक रहेको छ । गलैंचामा भ्याट लगाउने , अनुदान नदिने गर्दा समस्या देखिएको उनको भनाई छ । गलैंचाको लागि आवश्यक पर्ने कच्चा पदार्थ करिब ८० प्रतिशत आयात गर्नुपर्ने वाध्यता रहेको छ । समस्याको चाङका बाबजुद पनि नेपाली गलैंचा हातबाट निर्मित हुने हुदाँ दर्जनौं मुलुकमा निर्यात हुन्छ । नेपाली गलैंचा बढी परिमाणमा अर्जेन्टिना, अस्ट्रिया, क्यानडा लगायतका मुलुकमा निर्यात हुन्छ भने अमेरिका र युरोपेली मुलुकबाट समेत प्रशस्त माग आउने गरेको छ ।

नेपाल अलैंची व्यवसायी महासंघले अलैंची उत्पादनकर्ताहरुलाई सरकारले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेमा उत्पादन बढाउन सक्ने जसले गर्दा निर्यात व्यापार राम्रो हुने बताउछ । अलैंची उत्पादनको क्रममा विभिन्न रोक प्रकोपहरुको समस्या हुन्छ भने त्यस्तै निर्यातमा समेत अवरोध हुदाँ उत्पादनकर्ताहरु निराशा हुने वातावरण रहेको भन्दै महासंघका पदाधिकारीहरुले यसको समाधान गर्न सरकार तत्पर हुनु पर्ने बताउछन् । सरकारले सहयोग गरेमा थप गुणस्तरीय उत्पादन गर्न सकिने उनीहरुको धारणा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार