१११ मुलुकसँग व्यापार घाटा

काठमाडौं । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न नसक्दा नेपालले १११ वटा मुलुकसँगको व्यापारमा घाटा व्यहोर्नु परेको छ । स्वदेशमा उत्पादन सम्भावना पर्याप्त रहेका सामग्री र निर्यातजन्य सामग्रीको उत्पादन तथा निर्यातमा ध्यान दिन नसक्दा नेपालले अन्य मुलुकसँग गर्ने व्यापारमा घाटा व्यहोर्नु परेको विज्ञहरु बताउछन् ।

चालु आर्थिक वर्षमा पहिलो चार महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख व्यापार घाटा भएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी चीन, भारत र युक्रेनसँग छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले १४४ मुलुकसँग द्धिपक्षीय व्यापार गर्छ । यसमध्ये १११ मुलुकसँग व्यापार घाटा र ३३ मुलुकसँग व्याापार नाफा छ । व्यापार घाटा खर्ब र अर्ब रुपेयाँमा भइरहँदा नाफा भने करोड र लाखमा देखिएको छ । आयात र निर्यात व्यापारमा सबैभन्दा अगाडि भारत र चीन रहेको छ ।

भारतसँग ३ खर्ब १६ अर्ब ८८ करोडको आयात र ३५ अर्ब ७६ करोड निर्यात रहेको छ । अर्थात् ४ महिनामा भारतसँग घाटा २ खर्ब ८१ अर्ब ११ करोड भएको छ ।

दोस्रोमा चीन रहेको छ । ४ महिनामा चीनसँग १ खर्ब २ अर्ब घाटा भएको छ । चीनसँग १ खर्ब ३ अर्ब १८ करोडको आयात र ६८ करोड २३ लाखको निर्यात रहेको छ ।

उद्योगभन्दा ट्रेडिङ नीति, पारवहान लागत, प्रविधिको कमी र तुलनात्मक लाभका वस्तु परिमार्जित नहुदाँ व्यापार बढ्न नसकेको जानकारहरु बताउछन् । कृषिप्रधान मुलुक भन्ने कृषि उत्पादनमा जोड नदिदाँ आयात उच्च भएको बताउँछन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. समुन रेग्मी बताउछन् ।

उनले अधिकांश निर्यातयोग्य वस्तुहरु आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुदाँ व्यापार घाटामा कमी आउन ननसकेको बताए । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरुका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको उनको भनाई छ ।

नेपालले डेनमार्क, रसिया, अष्ट्रिया, माल्दिभ्स लगायतका मुलुकसँग भने नाफा कमाएको छ । ४ महिनामा सबैभन्दा डेनमार्कसँग १४ करोड नाफा भएको छ । १४ करोड ९९ लाखको निर्यात हुदाँ डेनमार्कसँग ९ करोड ३८ लाखको आयात भएको छ ।

९ करोड १० लाखको निर्यात हुदाँ रसियासँग १ करोड ७२ लाखको आयात भएको छ । रसियासँग ७ करोड ३७ लाख नाफा भएको छ ।

विभागका अनुसार ४ महिनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड व्यापार घाटा हुदाँ गत आर्थिक वर्षको सोहि अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड व्यापार घाटा भएको थियो ।

प्रमुख निकासी भएका सामग्री

चालू आर्थिक वर्षको ४ महिनामा नेपालले ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। यो भनेको गत वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो। गत वर्ष ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजारको निर्यात भएको थियो।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरु, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी प्रमुख रुपमा रहेका छन् ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।

प्रमुख आयात भएका सामग्री

यो ४ महिनामा नेपालले ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरेको छ। गत वर्षको तुलनामा यो ०.१७ प्रतिशतले बढी हो।गत आर्थिक वर्षको सोहि अवधिमा आयात ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा आयातमा भने  पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री छन् । यसैगरी समीक्षा अवधिमा औषधिको आयातमा वृद्धि भएको छ । खोपको आयात भारी मात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो ।

नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इन्डोनेसिया, संयुक्त राज्य अमेरिका, यूएई, अर्जेन्टिना, अष्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, बंगलादेश, थाइल्यान्ड, क्यानडा तथा टर्की रहेका छन् । विभागका अनुसार यो अवधिमा निर्यात र आयातको हिस्सा ३.८७ प्रतिशतले ऋणात्मक रहेको छ।

यो सँगै नेपालले यो अवधिमा कुल ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजारको वैदेशिक व्यापार गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ०.५३ प्रतिशतले बढी हो।गत आर्थिक वर्षको सोहि अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार कुल वैदेशिक व्यापार रहेको थियो ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार