CLI

सातगाउँले जात्राका अवसरमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं । सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ ।

कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए । सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ ।

काठमाडौँको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार यही मङ्सिर २५ गते मङ्गलबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित ल्याउने छन् ।

सातगाउँले यात्रा हेर्न उपत्यकाका सबै ठाउँका नेवार समुदायका मानिस बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा रही आएको छ ।

आमा विष्णुदेवीलाई भेट्न सन्तानबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीयवासी रश्मिला श्रेष्ठ बताउछिन् । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुङ्गलकी देवी बिनाश्रृङ्गार बल्खु पुगेकी थिइन् भन्ने भनाइ रहेको छ ।

मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पिठ्युँ फर्काएर बाहिरै बसेको भन्ने भनाइ पनि यहाँका बुढापाकाले सुनाउने गरेका छन् । यसैकारण बल्खुमा सतुङ्गलकी देवीको रथ बिनागरगहना पहिल्यै पुर्‍याउने गरिन्छ । मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै फर्काएर राखिन्छ । रथ पुर्‍याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ ।

जात्राको मुख्यस्थान बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकामा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएका थिए । तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको स्थानीय वृद्ध मङ्गल महर्जन बताउनुहुन्छ । परेवा उडेर कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।

Leave Your Comment

Related News