काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केबर–बागमती सडक खण्ड विस्तार गर्न ठेक्का लागेको छ । सडक विभागले कमला–ढल्केबर–बागमती ७४ किलोमिटर सडक खण्ड विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न ठेक्का लगाएको हो ।
कमला–ढल्केबर–बागमती सडक खण्ड चार लेनमा विस्तार गर्न तीन प्याकेजमा ठेक्का लागेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) बन्दना आचार्यले जानकारी दिइन् ।
सडक विभागले कमला–ढल्केबर–बागमती–पथलैया १३० किलोमिटर खण्ड विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न खोजेको थियो । तर विश्व बैंकले कमला–ढल्केबर–बागमती खण्ड विस्तारका लागि मात्र ऋण उपलब्ध गराएको छ । विभागले बागमती–पथलैया ५६ किलोमिटर खण्डका लागि विश्व बैंकबाट ऋण प्राप्त भइसकेको छैन । यस खण्डलाई कुन मोडालिटीमा अघि बढाउने भन्ने सडक विभागले तय गर्न सकेको छैन ।
सडक विभागले कमला–ढल्केबर–बागमती खण्ड विस्तार गर्न चैत २०८० मा ठेक्का आह्वान गरेको थियो । सडक विस्तार गर्न करिब एक दर्जन निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । कमला–ढल्केबर–बागमती सडकको दुई खण्ड चिनियाँ कम्पनी र एक भारतीय कम्पनीले ठेक्का प्राप्त गरेको छ ।
कुन खण्डको ठेक्का कसलाई
सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती खण्डको पहिलो २२ किलोमिटर सडक स्तरोन्नतिका लागि भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड छनोट भएको छ । सडक विभाग र भारतीय कम्पनीबीच सडक स्तरोन्नतिका लागि २०८१ असोज ११ गते सम्झौता भएको छ । यो खण्ड ५ अर्ब ७९ करोड ३७ लाख रुपैयाँमा ठेक्का लागेको हो ।
त्यसपछिको २९ किलोमिटर स्तरोन्नतिको जिम्मा चिनियाँ र नेपाली निर्माण कम्पनी सान्सी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इन्जिनियरिङ ग्रुप (स्वेग) र रसुवागढी कन्स्ट्रक्सन कम्पनी (आरसीसी) जेभीले पाएका छन् । यस खण्डको स्तरोन्नति गर्न सडक विभाग र चिनियाँ तथा नेपाली जेभीबीच भदौ २४ गते सम्झौता भएको हो । यो खण्डको ठेक्का रकम ६ अर्ब ४३ करोड २५ लाख रुपैयाँ छ ।
तेस्रो खण्डमा कुल २३ किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । यो खण्डमा चिनियाँ स्वेग र नेपाली आरसीसी जेभीले ठेक्का पाएका छन् । यस खण्डको स्तरोन्नति गर्न सडक विभाग र चिनियाँ तथा नेपाली जेभीबीच भदौ २४ गते सम्झौता भएको हो । यस ठेक्काको रकम ६ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ छ ।
यस प्रकार कमला–ढल्केबर–बागमतीमा कुल ७४ किलोमिटरका लागि ठेक्काको टुंगो लागेको हो । अहिले महेन्द्र राजमार्गको ‘चेनेज २३८ प्लस ०३० देखि ३१२ प्लस ७८५’ सम्मका लागि ठेक्का लागेको हो । जसको कुल ठेक्का रकम १८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ छ ।
निर्माण कम्पनीले ठेक्का सम्झौता भएको मितिबाट तीन वर्ष भित्रमा सडक स्तरोन्नति गरी सडक विभागलाई हस्तान्तरण गर्नु पर्छ ।
कमला–ढल्केबर–पथलैया सडक खण्ड सिरहाको कमला नदीबाट सुरु हुन्छ । जुन बाराको पथलैयामा अन्त्य हुन्छ । यस खण्डले मधेश प्रदेशका सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा गरी ६ जिल्ला छुन्छ । जसमा १५ नगरपालिका र १ उपमहानगरपालिका पर्छन् ।
सडक कस्तो हुन्छ
सडक विभागले दुई लेनको पूर्व–पश्चिम राजमार्ग एशियाली हाइवे स्ट्यान्डर्ड अन्तर्गत चार लेनमा विस्तार गर्न लागेको हो । कमला–ढल्केबर–पथलैया सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सरकारले तयार गरिसकेको छ। अन्तर्राष्ट्रिय परामर्शदाता इप्टिसा र स्तुभको जोइन्ट भेन्चर कम्पनी (जेभी पार्टनर) ले डीपीआर तयार गरेको हो। ढल्केबर–पथलैया खण्ड पूर्वपश्चिम राजमार्गका अन्य खण्डमाजस्तै ‘मेडियन’ (डिभाइडर संरचना)को दुईतर्फ ७–७ मिटरको दुई– दुई सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दायाँ–बायाँ नै साढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गरिनेछ।
पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जंगली जनावरका लागि ‘एनिमल पास पुल’ पनि निर्माण गरिने छ । यो सडक पर्सा राष्ट्रिय निकुञ्ज र चारकोसे झाडी क्षेत्र छिचोलेर बनाइएको छ । यो खण्डका मुख्य वस्ती र शहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन राखिनेछ । यसअनुसार शहरी क्षेत्रमा सडक ६ लेनको हुनेछ ।