५ महिनामा ५ खर्ब ८७ अर्ब पुग्यो व्यापार घाटा, सबैभन्दा बढी भारत र चीनसँग व्यापार घाटा

Garima_Business-Loan3

काठमाडौं । मुलुक औद्योगिक विकासमा पछि पर्दा व्यापार समेत प्रभावित बन्न पुगेको छ । सरकारले औद्योगिक विकासमा ध्यान दिन नसक्दा नेपालको निर्यात व्यापारको तुलनामा आयात व्यापार उच्च रहेको छ । जसले गर्दा व्यापार घाटा समेत उच्च रहेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ । नेपालले सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ । पाँच महिनाको अवधिमा भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड रुपैयाँको आयात भएको छ भने ५२ अर्ब १ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग ३ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भारतपछि बढी व्यापार घाटा चीनसँग छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ व्यापार घाटा छ । १ खर्ब ३१ अर्ब ३७ करोड रुपैयाँको आयात हुदाँ चीनमा १ अर्ब ७४ करोड ५८ लाख रुपैयाँको निर्यात भएको छ ।

भारत र चीनपछि अर्जेन्टिना, युक्रेन अष्ट्रेलिया, थाइल्यान्ड, इन्डोनेसियालगायतका मुलुकसँग व्यापार घाटा भएको छ । समीक्षा अवधिमा नेपालले अर्जेन्टिनासँग ११ अर्ब ७९ करोड रुपैयाँ, युक्रेनसँग १० अर्ब ५६ करोड रुपैयाँ, अष्ट्रेलियासँग ७ अर्ब २० करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । नेपालको द्विपक्षीय व्यापार एक सय ४९ वटा मुलुकसँग हुनेगरेको छ । जसमा एक सय १९ वटा मुलुकसँग व्यापार घाटा छ भने ३० वटा मुलुकसँग नाफा छ । कृषि उत्पादनका साथै औद्योगिक उत्पादनमा वृद्धि गर्न नसक्दा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा घाटा बेहोरेको विज्ञहरू बताउँछन् । कृषिप्रधान देश भनिए पनि कृषि उपज नै अर्बौँको आयात हुँदा व्यापारमा सुधार नदेखिएको विज्ञहरुको भनाई छ ।

नेपालले अफगानस्तिान, डेनमार्क, अष्ट्रिया लगायतका मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी नाफा अफगानस्तिानसँग भएको छ । अफगानिस्तानसँग ३९ करोड ५७ लाख रुपैयाँ नाफा भएको छ । ४० करोड ८१ लाख रुपैयाँको निर्यात हुँदा एक करोड २३ लाख रुपैयाँको आयात भएको छ । दोस्रोमा डेनमार्कसँग १८ करोड ९५ लाख रुपैयाँ नाफा भएको छ । २९ करोड आठ लाख रुपैयाँको निर्यात र १० करोड १३ लाख रुपैयाँको आयात भएको छ ।

अफगानिस्तान, डेनमार्कपछि अष्ट्रिया, ल्यटिभा, माल्दिभ्सलगायतका मुलुकसँगको व्यापारमा नाफा भएको छ । समीक्षा अवधिमा अष्ट्रियासँग सात कारोड ८० लाख रुपैयाँ, ल्यटिभासँग एक करोड ७४ लाख रुपैयाँ र माल्दिभ्ससँग एक करोड ४५ लाख रुपैयाँ नाफा रहेको छ ।

विभागका अनुसार पाँच महिनाको अवधिमा व्यापार घाटा भने एक दशमलव ५२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ व्यापार घाटा थियो । वैदेशिक व्यापारलाई हेर्दा भान्सामा प्रयोग हुने कृषि उपजदेखि लिएर महँगा सवारीसाधन, पेट्रोलियम पदार्थलगायतका अधिकांश सामग्रीहरू आयात गर्नुपर्ने अवस्थाका कारण मुलुकको व्यापार सदैव घाटामा रहेको विज्ञहरु बताउँछन् । सरकारले कृषिजन्य उत्पादन र औद्योगिक उत्पादनलाई बढुवा नदिँदा र वास्तिविक कृषकलाई नसमेट्दा हालको समस्या देखिएको अर्थविद् केशव आचार्यले बताए । सरकार र निजी क्षेत्र मिलेर कृषि, मत्स्यउत्पादन बढुवा गर्न र औद्योगीकरणका लागि पर्याप्त लगानी गर्न नसक्दा समस्या भएको आचार्यको भनाइ छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ ।

नेपालको निर्यात क्षेत्रले सीमित विविधीकरण, कम उत्पादकत्व र मूल्यवान् वस्तुहरूको अभावजस्ता चुनौतीको सामना गरिरहेको छ । कपडा, गलैँचा र कृषि उत्पानलगायत प्रमुख निर्यातहरू प्रायः सानो मात्रामा उत्पादन गरिन्छ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाको अभाव रहेको छ । यसैबीच वैदेशिक व्यापार भने गत आर्थिक वर्षको तुलनामा चार दशमलव २१ प्रतिशतले बढेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा सात खर्ब ३५ अर्ब १४ करोड करोड रुपैयाँको कुल वैदेशिक व्यापार रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक व्यापार सात खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँको रहेको थियो । उच्च आयातका कारण समीक्षा अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको आयात व्यापार रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशतले वृद्धिदर हो । गत आर्थिक वर्षमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात व्यापार रहेको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार