काठमाडौं । नेपालको पहिलो सडक सुरुङ मार्ग ‘नागढुंगा’को भौतिक प्रगति करिब ८४ प्रतिशत सम्पन्न भएको छ । सुरुङ मार्ग निर्माण सम्झौता भएको ६३ महिनामा ८४ प्रतिशत भौतिक प्रगति हासिल गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ । आयोजनाको हालसम्मको वित्तीय प्रगति भने ७६.६८ प्रतिशत छ ।
नागढुंगा सुरुङ मार्ग ४२ महिनामा सम्पन्न गर्ने गरी सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच २०७६ असोज ५ गते सम्झौता भएको थियो । उक्त सम्झौताको एक महिना पछि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र जापानी राजदूत मासासी साइगोले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
कोभिड १९ महामारीका कारण निर्माण सामाग्रीको अभाव र बेलाबखतमा हुने स्थानीयको अवरोधका कारण तोकिएको समयमा निर्माण कार्य पुरा हुन नसकेको आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।
निर्माणमा ढिलाई भएसँगै आयोजनाको लागत पनि बढेको छ । तत्कालीन समयमा करिब १३ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर अहिले लागत करिब २३ अर्ब रुपैयाँ पुगेको छ ।
ठेक्काको म्याद २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको छ । अबको एक वर्ष भित्रमा नागढुंगा सुरुङ मार्ग निर्माण हुने आयोजनाले विश्वास व्यक्त गरेको छ ।
काठमाडौंको नागढुंगा टुटिपाखा हुँदै सुरुङ मार्ग धादिङको सिस्ने खोलासम्म सुरुङमार्ग निर्माण गरिनेछ। त्रिभुवन राजपथबाट नागढुंगा टुटिपाखासम्म २.३ किमि र धादिङतर्फ धुनिबेसी सिस्नेखोला पाँच सय ६५ मिटर पक्की सडक निर्माण गरिनेछ। यो सुरुङमार्ग नागढुंगाको ठाडो उकालो सडक छल्न बनाउन लागिएको हो।
उकालो सडक र सवारीको चाप धेरै हुने भएकाले भारतबाट आउने मालवाहक सवारी यो खण्डमा बिग्रिने गरेका छन्। सानो सडकमा ठूला गाडी बिग्रिँदा जाम पनि बढ्दो क्रममा छ। सुरुङ मार्गले यो समस्या हल गर्ने आयोजनाको विश्वास छ। नयाँ बन्ने सुरुङ सडकमार्ग दुई लेनको हुनेछ। एक लेन साढे तीन मिटरको हुनेछ। सडकको चौडाइ भने ९.५ मिटरको हुनेछ। यसमा १.५ मिटरको मेडियन र ०.५ मिटर सोल्डर पनि निर्माण गरिनेछ।
स्थानीय सडकमा गुड्ने सवारीलाई सुरुङ सडकमा प्रवेश गर्न नदिन दुईवटा फ्लाइओभर निर्माण गरिनेछ। सडकमा सात वटा पुल र ११ वटा बक्स कल्भर्ट निर्माण पनि बनाइनेछ। सुरुङ मार्गमा मोटरसाइकल, ग्यास र पेट्रोलियम पदार्थ ओसारपसार गर्ने सवारी साधन प्रवेश गर्न पाउने छैन।
यसैगरी सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षा र निकासका लागि अर्काे समानान्तर सुरुङ पनि निर्माण हुने भएको छ। कुनै सवारी साधन बिग्रेमा वा दुर्घटनामा परेमा वैकिल्पक सुरुङ मार्गबाट उद्धार तथा निकासका लागि यो वैकल्पिक समानान्तर सुरुङ निर्माण हुने भएको हो।
हालसम्म मुख्य टेनलमा ९३५.५० मिटर सडक लेन सिआरसिपीमार्फत कंक्रिट गरिएको छ । मुख्य टनेल दुई हजार ६ सय ८८ मिटरको छ । यस्तै, सुरुङबाहिरको सडक लेनलाई भने ‘रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (आरसिपी) प्रविधिमा कंक्रिट गरिँदै छ । यसअन्तर्गत दुई हजार आठ सय मिटर सडक लेन कंक्रिट गर्नुपर्नेछ, त्यसमा हालसम्म ५५१.२० मिटर सडक लेन कंक्रिट गरिएको छ ।
यस्तै, सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने ‘जोइन्ट रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (जेआरसिपी) प्रविधिमा कंक्रिट गरिँदै छ । यसअन्तर्गत ९८३.८२ मिटर सडक कंक्रिट गर्नुपर्नेछ । त्यसमा हालसम्म ५०१.४० मिटर सडक कंक्रिट गरिसकिएको छ ।