काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । अर्थमन्त्री मन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार चालु आवको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेका छन् । समीक्षामार्फत मन्त्रालयगत खर्चको स्थिति पनि सार्वजनिक गरिएको छ ।
चालु आवको साउनदेखि पुस मासन्तसम्म २२ वटा मन्त्रालयले विनियोजित बजेट मध्ये २ खर्ब ४८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ मात्र खर्च गरेका छन् । चालु आवमा मन्त्रालयहरुका लागि ८ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । ६ महिनामा मन्त्रालयहरुले कुल विनियोजित बजेटको कुल २७.०५ प्रतिशत रकम मात्र खर्च गर्न सकेको अर्थमन्त्रीले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा देखिन्छ ।
यस अवधिमा सबैभन्दा कम बजेट खर्च उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले गरेको छ । यस मन्त्रालयको नेतृत्वमा दामोदर भण्डारी छन् । उद्योग मन्त्रालयका लागि चालु आवमा ८ अर्ब ४ करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये ६ महिनाको अवधिमा मन्त्रालयले ६१ करोड ३० लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो कुल विनियोजित बजेटको ७.६२ प्रतिशत हो ।
भण्डारी फुर्सदिला मन्त्रीका रुपमा पनि परिचित छन् । उद्योग मन्त्रालयको नेतृत्वमा यो उनको लगातार दोस्रो कार्याकाल हो । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उनले उद्योग मन्त्रालय नै सम्हालेका थिए । तर असार १७ मा गठबन्धन फेरिँदा पनि उनले ओलीलाई रिझाएर त्यही पदमा दोहोरिन सफल हुन् ।
अन्य मन्त्रीहरुलाई मन्त्रालयको काम कारबाही कसरी अघि बढ्छ भन्ने बुझ्नै केही समय लाग्ने अवस्था थियो । तर भण्डारी सोही मन्त्रालयमा दोहोरिएकाले उनको हकमा त्यस्तो थिएन् । त्यसले त उनी गत कार्तिकमा चर्चित स्क्यामर विजय शाहीको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । अरु मन्त्रीहरु मन्त्रालयको तौरतरिका बुझ्ने प्रयासमा रहँदा आफूलाई फुर्सदमा पाएका भण्डारी शाहीको अतिथि बन्न भ्याएका थिए ।
देशको औद्योगिक क्षेत्र खस्कँदै गर्दा उद्योगमन्त्री यस्तो कार्यक्रममा सहभागी हुँदा उनको प्राथमिकता के हो भन्ने बुझ्न कठिन देखिएको थियो ।
नेपालमा उद्योगहरू संकटमा परिरहेका बेला उद्योगमन्त्रीले लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने, रुग्ण उद्योगलाई पुनर्जीवित गर्ने जस्ता विषयमा ध्यान दिनुपर्ने हो। उद्योगधन्दा नचलेर देशको अर्थतन्त्र शिथिल अवस्थामा छ । रुग्ण उद्योग ब्यूताउने, नयाँ उद्योगमा लगानी भित्र्याएर स्वदेशमै रोजगारी र अर्थतन्त्र चलायमान बनाउन पहल गर्नु मन्त्रीको जिम्मेवारी भित्र पर्छ । तर नेपालकै चर्चित ठगका रुपमा कहलिएका शाहीले आयोजना गरेको कार्यक्रममा भण्डारी उपस्थित हुँदा उनी कति फुर्सदमा छन् भन्ने प्रष्टै देखिन्छ ।
पहिलो पटक मन्त्री हुँदा पनि अर्थतन्त्र चलायमान बनाउन खासै मिहिनेत नगरेका भण्डारी दोस्रो कार्याकालमा अझै फुर्सदिलो भइदिँए । उद्योग, कलकारखान कसरी सञ्चालन गर्ने, अर्थतन्त्र कसरी चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने लगायत विषयमा केन्द्रित हुन छाडेर मरेको मान्छेलाई ज्यूँदो बनाउँछु भन्ने व्यक्तिको पछि मन्त्री लागे । तर, विज्ञान र तर्कभन्दा बाहिरका दाबी गर्ने व्यक्तिहरूसँग उनी नजिकिनु र देखिँदा मन्त्रालयको काम गर्ने गति सुस्त हुनु संयोग मात्र हैन होला ।
यस अघि पनि विभिन्न फण्डा बाजी गर्दै सोझा नेपालीलाई झुक्याएर ठगी धन्दा गर्दै हिड्ने युवाको पछि लाग्दा मन्त्रीसँग मन्त्रालयको हाल बेहाल भएको छ । त्यसैले त अन्य समकक्षीको तुलनामा सबै कम खर्च गर्ने मन्त्री भण्डारीको बनेका छन् । थोरै बजेट खर्च भनेको कम काम हो । काम गर्ने समयमा नटवरलालको नेपाली भर्सनको पछि लाग्दा उद्योग नम्बर वान सुस्त मन्त्रालय बनेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा बढी खर्च परराष्ट्र मन्त्रालयले गरेको छ । सो मन्त्रालयमा कुल ६ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा कुल ३ अर्ब ४३ करोड अर्थात् कुल बजेटको ५०.६४ प्रतिशत खर्च भइसकेको छ । जुन अन्य मन्त्रालयको तुलनामा राम्रो हो । यस मन्त्रालयको नेतृत्व आरजु राणाले गरिरहेकी छन् ।
यस्तो छ मन्त्रालयगत खर्चको विवरणः
क्र.स. | मन्त्रालय/निकाय | बजेट | पुससम्मको खर्च | खर्च प्रतिशत |
1 | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | 55966 | 18599 | 33.23 |
2 | अर्थ मन्त्रालय | 439843 | 99892 | 22.71 |
3 | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय | 80416 | 6130 | 7.62 |
4 | ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय | 404377 | 81337 | 20.11 |
5 | कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय | 5481 | 1783 | 32.54 |
6 | कृषि तथा पशुपन्छी विकास मन्त्रालय | 496971 | 150256 | 30.23 |
7 | खानेपानी मन्त्रालय | 163317 | 26310 | 16.11 |
8 | गृह मन्त्रालय | 2032856 | 841892 | 41.41 |
9 | संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय | 53523 | 14934 | 27.90 |
10 | परराष्ट्र मन्त्रालय | 67912 | 34392 | 50.64 |
11 | वन तथा वातावरण मन्त्रालय | 119836 | 35115 | 29.30 |
12 | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय | 66527 | 23438 | 35.23 |
13 | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय | 1504271 | 354818 | 23.59 |
14 | महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय | 13069 | 2301 | 17.61 |
15 | युवा तथा खेलकूद मन्त्रालय | 33419 | 5973 | 17.87 |
16 | रक्षा मन्त्रालय | 598751 | 277772 | 46.39 |
17 | शहरी विकास मन्त्रालय | 682428 | 76402 | 11.20 |
18 | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय | 577021 | 249552 | 43.25 |
19 | सञ्चार तथा सूचना प्रविधि मन्त्रालय | 73769 | 21228 | 28.78 |
20 | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय | 64967 | 8279 | 12.74 |
21 | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय | 461468 | 150274 | 32.56 |
22 | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय | 18512 | 2606 | 14.08 |