काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अघिल्लो लगानी कोष (फण्ड) व्यवस्थापन गर्न असफल भएको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई पुनः अर्को नयाँ फण्ड व्यवस्थापन गर्न अनुमति दिएको छ। सेबोनले कम्पनीलाई ५० करोड रुपैयाँको ‘नेशनल हाइड्रो फण्ड–२’ सञ्चालनको अनुमति दिएको हो । जसबाट जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ।
नेशनल फण्ड म्यानेजमेन्टलाई यसअघि २०८० असोज ४ गते सेबोनले ७ अर्ब रुपैयाँको ‘नेशनल इक्विटी फण्ड–१’ व्यवस्थापन गर्ने अनुमति दिएको थियो । जसको अवधि १० वर्षको छ। तर कम्पनीले सो फण्डको लागि आवश्यक न्यूनतम रकम संकलन गर्न सकेको छैन। स्रोतका अनुसार हालसम्म उक्त फण्डमा जम्मा करिब ३ अर्ब रुपैयाँ मात्र संकलन गरिएको छ।
विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अनुसार, कुनै पनि कोष व्यवस्थापनको अनुमति प्राप्त गरेको मितिले दुई वर्षभित्र कोष संकलन गर्नुपर्ने प्रावधान छ। यस हिसाबले नेशनलसँग अझै करिब ६ महिना समय बाँकी छ। तथापि, अघिल्लो फण्डमा लक्षित रकम संकलन गर्न नसकेको कम्पनीलाई नियामकले पुनः अर्को फण्डको अनुमति दिएकोमा बजारमा प्रश्न उठेको छ।
सेबोनले एउटा फण्ड प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसकेको कम्पनीलाई पुनः अनुमति दिँदा, विगतमा सफलतापूर्वक फण्ड व्यवस्थापन गरिसकेका अन्य कम्पनीहरूलाई भने नयाँ फण्डको अनुमति नदिएको गुनासो उठ्न थालेको छ। यस्तो निर्णयले सेबोनको पारदर्शिता र निष्पक्षतामा प्रश्न उठ्न थालेको छ।
विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले १३ कम्पनीलाई कोष व्यवस्थापकको रुपमा लाइसेन्स प्रदान गरेको छ। हालसम्म सेबोनबाट १० कोष व्यवस्थापकले कोष व्यवस्थापनको अनुमति प्राप्त गरेका छन् ।
सेबोनले अवसर इक्विटी लिमिटेड, अल्फा प्लस भेन्चर्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईएमबि एस क्यापिटल लिमिटेड, रिलायबल भेन्चर क्यापिटल लिमिटेड र नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई कोष व्यवस्थापनको लागि स्वीकृति प्रदान गरेको छ।
यी कम्पनीहरुले साढे ३० अर्ब रुपैयाँको कोष व्यवस्थापन गर्ने अनुमति प्राप्त गरेका छन्।
सबैभन्दा ठूलो कोष एनआईएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँ बराबरको एनआईबिल एक्विटी पार्टनर्स कोष व्यवस्थापन गरिरहेको छ। भने सबैभन्दा कम रकमको ५० करोड रुपैयाँको प्रभु डायनामिक प्राइभेट इक्विटी फण्ड–१ प्रभु क्यापिटलले व्यवस्थापन गरिरहेको छ।
यस कोष अन्तर्गतको रकम यी कम्पनीहरुले नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरुमा लगानी गर्न सक्छन्। यस्ता कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी रहन्छ । जसबाट स्वदेशी स्रोत परिचालन भई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ ।