CLI

सञ्चारकर्मी आफ्नो भूमिकाप्रति सचेत बनौँ! आर्थिक पत्रकारितालाई जनउत्तरदायी बनाऔँ !!

काठमाडौं । मिडियालाई लोकतन्त्रको आधारस्तम्भ मानिन्छ र राज्यको ‘चौथो अङ्ग’ भनिन्छ । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाको गतिविधि, अनुगमन र निगरानी गर्ने भएकाले नियन्त्रण र सन्तुलनको प्रणालीभित्र मिडियालाई राज्यको ‘चौथो अंग’ भनिएको हो ।

राज्यका निकायका कामलाई खबरदारी गर्ने, नीतिनियममा भएका कमीकमजोरी औँल्याउदै सुधारको बाटो देखाउने, गलत कार्यविरुद्ध आलोचनात्मक चेत विकास गरी नागरिक सहभागिता जुटाउनु मिडियाको मूलभूत दायित्व हो । यसका लागि मिडियाले सत्यता, निष्पक्षता र पारदर्शिताको सिद्धान्तलाई पछ्याउँदै निरन्तर रुपमा रिपोर्टिङ, लेख, सम्पादकीय वा अन्य विविध सामग्री प्रकाशित एवम् प्रशारित गर्नु पर्दछ ।

सूचनासम्म पहुँचको अभावमा नागरिकहरूले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सक्दैनन्, जसका लागि मिडिया एक अनिवार्य साधन हो। तर आज नेपाली मिडिया ब्रेकिङ समाचारको नाममा सामाजिक सञ्जालमा फैलने मिथ्या सामग्रीको शिकार बनिरहेको तीतो यथार्थ हामीबिच छ  । सत्यको अन्वेषणबिना गरिने यस्ता प्रतिस्पर्धाले यसको विश्वसनीयतामा नै प्रश्न उठ्ने गरेको छ । आलोचना हुने गरेको छ । यसबाट बच्न मिडिया आफू पनि आफ्नो भूमिका र कार्यप्रति उत्तरदायी हुनुपर्छ । मिडियाको भूमिका र कार्य के कति प्रभावकारी भएका छन् सुधार गर्नुपर्ने पक्षहरु के-के हुन् भन्ने पहिचान गर्न र त्यसलाई सच्याउन आवश्यक छ ।

आर्थिक पत्रकारिता विकासको पहरेदार हो, जसले राज्यको आर्थिक नीति, राजस्व, वित्त/बैंकिङ, नीजि क्षेत्र, उद्यमशितला, उत्पादन तथा उत्पादकत्व वृद्धि, श्रम तथा रोजागारीलगायत सामाजिक आर्थिक मुद्दाहरूको रिपोर्टिङ, विश्लेषण गर्दछ । शेयर बजार, कम्पनीको आर्थिक अवस्था, बजेट, कर नीति, गरीबि पनि यसकै दायराभित्र पर्दछन । यसले आम नागरिकमा आफ्नो आर्थिक स्थिति र अधिकार जानकारी दिइ उनीहरुलाई सचेत र सशक्त बनाउन सशक्त भूमिका खेल्दछ । त्यसैले  तथ्यपरक र समावेशी पत्रकारिता नै जनउत्तरदायी आर्थिक पत्रकारिताको मुख्य आधार हो ।

आर्थिक मिडियालाई जनउत्तरदायी बनाउन सर्वप्रथम खोज/अनुसन्धानमा आधारित र निष्पक्ष रिपोर्टिङ आवश्यक छ । सूचनाको स्रोतको सत्यता सुनिश्चित गर्नका साथै स्रोतसँग हुने सम्भावित आर्थिक वा राजनैतिक सम्बन्धलाई पारदर्शी बनाउनुपर्छ । आर्थिक नीति, व्यापारिक गतिविधि, र सरकारको निर्णयहरूले समाजका हरेक वर्गमा पार्ने प्रभावलाई सूक्ष्मतापूर्वक अध्ययन गरी समाचार तयार गर्नुपर्छ । जसले निष्पक्षतामा आधारित पत्रकारितालाई प्रवर्द्धन गर्न सकोस् ।

अर्को कुरा, पछिल्लो समय नेपालमा सञ्चारकर्मीको भूमिकालाई लिएर पनि प्रश्न उठ्ने गरेका छन् । प्रेस पासको आडमा सामान्य आचारसंहिता र मर्यादाको समेत ख्याल नगरी स्रोत वा सरोकारवालासँग गरिने व्यवहारले सिङ्गो सञ्चार क्षेत्र आलोचित हुनुपर्ने अवस्था छ । सामाजिक सञ्जालमा पोखिने सञ्चारकर्मीको पक्षधरता, आवेग र आक्रोशले मिडियाको विश्वसनीयतालाई खलबल पार्ने खतरा बढाएको छ।

सबै पेशाका पेशागत धर्म हुन्छन् । त्यसलाई धारण गर्नु पेशाकर्मीको दायित्व हो । त्यस्तै सञ्चारकर्मीको पनि पेशागत धर्म छ । सत्य र सन्तुलित सामग्रीको उत्पादन, स्रोतको गोपनीयता, मर्यादित व्यवहार र तठस्थता सञ्चारकर्मीको पेशागत धर्म हो । तर यसमा हामी प्रतिबद्ध हुन सकेका छौँ? प्रश्न आफैँमाथि पनि गर्नुपर्ने हुन्छ ।

कुनै पनि व्यक्ति वा घटनाबारे सञ्चारकर्मीले आफ्नो मत जाहेर गर्ने आफ्नै तरिका छन् । सामाजिक सञ्चालमा एउटा विवेकहीन वकिलभन्दा बढी दलिलसहित पक्षधरता पेश गर्ने हाम्रो अभ्यासले नेपाली पत्रकारीताको गरिमालाई जोगाउन सक्दैन । पारदर्शी र तथ्यपरक रिपोर्टिङले मात्र सरकार र वित्तीय नियामक निकायलाई आमजनताप्रति जवाफदेही बनाउन सक्छ । सम्पादकीयमार्फत् प्रश्न सोध्न र सुधारको दबाब सिर्जना गर्न सक्नुपर्छ । यसका लागि समाचार र टिप्पणी लेख्ने अधिकार हामीसँग छ । समाजिक सञ्चालमा कुनै व्यक्ति वा घटनाबारे पक्षधरता देखाउने व्यक्तिले लेखेको समाचार सत्य र सन्तुलित हुन्छ भन्ने विश्वास आम पाठक-स्रोतामा दिलाउन सकिँदैन । त्यसो हुन पनि सक्दैन । त्यसले हामी सबै सञ्चारकर्मी आफ्नो भूमिकाप्रति सचेत रहन आवश्यक छ ।

Leave Your Comment

Related News