काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहहरुको खुद नाफा घटेको बताएको छ ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको वैशाखमसान्तसम्म अर्थात १० महिनाको अवधिमा नाफा ३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.९० प्रतिशत अर्थात् २६ करोड ६५ लाख रुपैयाँले कम नाफा हो । गत आर्थिक वर्षको वैशाखमसान्तसम्म विकास बैंकहरुको नाफा ३ अर्ब ८५ करोड ७६ लाख रहेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १० वटा विकास बैंकको नाफा बढ्दा २ वटा विकास बैंकको घटेको छ भने ४ वटा विकास बैंक भने नोक्सानी रहेको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्रियस्तरका १६ वटा विकास बैंकहहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिानाथ विकास बैंक रहेको छ भने त्यसपछि क्रमशः गरिमा , साइन रेसुङगा, कामना, साँग्रिला लगायतका विकास बैंक रहेको छ ।
१० महिनाको अवधिमा मुक्तिनाथले ८७ करोड ६८ लाख, गरिमाले ८६ करोड ९३ लाख, साइन रेसुङगाले ६१ करोड ५४ लाख, कामनाले ५७ करोड ७५ लाख र साँग्रिलाले ४९ करोड ८७ लाख नाफा कमाएको छ । सोही अवधिमा महालक्ष्मीले ४६ करोड ३२ लाख, ज्योतिले ३६ करोड १४ लाख, लुम्बिनीले ११ करोड ९२ लाख, मितेरीले १० करोड १३ लाख, सिन्धुले ७ करोड ३४ लाख र कर्पोरेटले १ करोड ५६ लाख नाफा कमाएको छ ।
सोही अवधिमा नारायणीले १ करोड ६ लाख, सप्तकोशीले ३ करोड ४२ लाख, एकसेलले ११ करोड ३४ लाख र कर्णालीले ८४ करोड ६१ लाख नोक्सानी व्यहोरेको छ ।



