भादगाउँ (भक्तपुर)। भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगण को ख्वापा (मुकुण्डो) यस वर्ष तयार भएको छ। भक्तपुर याछेंका ८० वर्षीय पूर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणमा प्रयोग हुने १३ वटा ख्वापा तयार पारेका हुन्। तयार भएका ख्वापा महानवमीको साँझ प्रदर्शन गरी देवगण बन्ने समूह (वनमाला) ले परम्परागत पूजासहित लिन आउने परम्परा छ।
प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने ख्वापा तयार नभए भक्तपुरको मोहनी नखाः (दसैँ) र नवदुर्गा नाच प्रभावित हुन्छ। संस्कृतिविद्हरूका अनुसार, विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धिप्राप्त नगरे भक्तपुर नगरका साथै उपत्यकाका विभिन्न स्थानको सांस्कृतिक जीवनसमेत अपूर्ण हुने विश्वास छ। ख्वापा बनाउने कार्यको शुभारम्भ घण्टाकर्ण चतुर्दशीका दिन गरिन्छ।
मुकुण्डो बनाउने विधि निकै जटिल छ। नवदुर्गाको ख्वापा बनाउन ‘बोचा’ भनिने विशेष किसिमको माटो प्रयोग हुन्छ। माटोलाई सुकाएर, कुटेर मैदा र पानीको माडमा मुछिन्छ। चित्रकारका अनुसार, माटोको डल्ला सुकेपछि कपास र नेपाली कागज राखी फुटाएर मुकुण्डोको स्वरूप दिइन्छ। ख्वापालाई घाममा नभई हावाले मात्र सुकाउनुपर्छ र एउटा मुकुण्डो सुकाउन कम्तीमा दुई हप्ता लाग्छ। यो काम अत्यन्त कठिन भएकाले कामदार पाउन मुस्किल छ।
नवदुर्गा देवगणको नाच मात्र नभई यसको ख्वापा निर्माणदेखि सिद्धिप्राप्तिसम्मको कार्यमा समेत तान्त्रिक विधिविधानअनुरुप पूजा गरिन्छ। माटो लिन साइत हेर्ने भएकाले माटोलाई समेत बाजागाजासहितको वनमाला टोलीले पूजा गर्ने परम्परा छ।
चित्रकारले तन्त्र विद्या प्रधान नाच भएका कारण यसको ख्वापा निर्माण गरेको दृश्य जोकोहीले हेर्न नहुने परम्परा रहेको बताएका छन्। उनले ख्वापालाई अन्तिम रूप दिने क्रमका केही सीप अझै गोप्य रहेको र सो सीप उनलाई काका विष्णुबहादुर चित्रकारले गोप्य तरिकाले सिकाएको उल्लेख गरेका छन्। यद्यपि, जात्रा नै सङ्कटमा पर्नसक्ने जोखिमका कारण उनले खास सीप आफूसँग राखेर अरू कुरामा भने केही गोपनियता खुकुलो बनाउँदै लगेको बताए।
नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन यस वर्ष करिब रु तीन लाख खर्च भएको चित्रकारले जानकारी दिएका छन्। खर्चको ठूलो हिस्सा कालिगढको ज्याला र रङरोगनमा जाने गरेको छ।
२०३६ सालमा मुकुण्डो बनाउन गुठी संस्थानबाट वार्षिक रु छ सय चार सहयोग प्राप्त हुने गरेकोमा त्यो बढेर हाल रु १५ हजार पुगेको छ। संस्कृति मन्त्रालयले वार्षिक रु ५० हजार सहयोग गर्दै आए पनि यस वर्ष दिएको छैन। नपुग रकम सहयोगी आफन्त र साथीभाइसँग सहयोग लिने गरेको चित्रकारले बताए। ख्वापा निर्माणको खर्च जोहो गर्न हाल रु ३० लाख नगद जम्मा भएको अक्षयकोष स्थापना गरिएको छ।
इतिहासविद एवं संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, नवदुर्गा देवगण नाच मल्लकालीन समयको संयुक्त परिवारलाई इङ्गित गर्ने भावप्रधानयुक्त नाच हो। यो नाचले नेवार समुदायको संस्कारमा घरमुली (नंकी) को दायित्व र महत्त्व लाई हरेक दृष्टिले उच्च स्थानमा राखेको सन्देश दिन्छ।
नवदुर्गा देवगणको समूहमा बाजागाजासहित १९ जना हुन्छन्, जसमध्ये १३ जना विभिन्न देवीदेवताहरूको मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गर्छन्। यसमा भैरव, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव र सिम्हदुम्ह (नन्दीभृङ्गी) गरी १३ वटा मुकुण्डो प्रयोग हुन्छ। नाचमा सिफोद्यः (महालक्ष्मीको प्रतीक) भनिने काठको सानो मन्दिर पनि प्रयोग गरिन्छ।

