पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने नेपालीमा खासै घुम्ने बानीको विकास भइसकेको थिएन । जाडोको मौसम व्यवसायीले ‘अफ सिजन’ भन्दै अन्त घुम्न जाने सोच बनाउँथे ।

कोही गोवा पुग्थे त कोही थाइल्याण्ड, तर अचेल समय बदलिएको छ । उही जाडो मौसम हो, तर अचेल यहाँको अवस्था भने नितान्त फरक छ । पर्यटन व्यवसायीलाई पात्रोमा अङ्ग्रेजी नयाँ वर्ष थपिँदा उत्साह पनि थपिन्छ । त्यसमा पोखरा सडक महोत्सवले रौनक थप्छ । यस वर्ष उक्त महोसत्वको २७ औँ संस्करण हुँदैछ । आगामी २०८२ पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर २८–जनवरी १) आयोजना हुने महोत्सवको तयारीमा रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) जुटीसकेको छ । विगतमा झै यस संस्करणको सडक महोत्सवले पनि पोखरालाई ‘गुल्जार’ बनाउँदै छ । आयोजकले महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सरोकार भएकाहरूसँगको परामर्शलाई तीव्र बनाएका छन् ।

२७ वर्षअघि यस्तो महोत्सवको परिकल्पना गर्ने अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भने आफ्नो पहलको निरन्तरताले मख्ख छन् । उनी भन्छन्, “तीन दशकअघिसम्म जब डिसेम्बर लाग्थ्यो, विदेशीहरू क्रिसमस मनाउन घर फर्कन्थे र पोखराको लेकसाइड सुनसान हुन्थ्यो । त्यो समयमा ‘अफ सिजन’ भन्दै सटर तानेर हामी व्यवसायी पनि भारतको गोवा वा थाइल्याण्ड जाने प्रचलन थियो ।”

भट्टराई मनस्पटलमा अझै एउटा घटना ताजै छ । “सन् १९९६ मा तत्कालीन राजा वीरेन्द्रले जाडोको समय लेकसाइडको सुनसानप्रति देखाएको चासो र गोवामा देखेको त्यो ‘फूड एण्ड कल्चर’ को महोत्सवले मेरो धारणा बदल्यो । जसको फलस्वरूप हामीले सन् १९९८ मा बसुन्धरा पार्कबाट वेटर रेस र हस्तकला प्रदर्शनीसहित एउटा प्रयासको थालनी गर्‍यौँ । त्यो प्रयास २७औँ संस्करणमा आइपुग्दा पोखराको ‘ब्रान्ड’ बनेको छ ।” उनी सडक महोत्सवले विदेश जाने पर्यटकलाई पोखरामै रोकेर नयाँ वर्ष मनाउने वातावरण बनाएको र विदेशीसँगै नेपालीमा पनि घुम्ने बानीको विकास गराएको बताउँछन् । परिवर्तित समयसँगै महोत्सवलाई केवल नाचगान र खानपानमा सीमित नराखी जाति, धर्म संस्कृतिबीचको सहिष्णुता र सद्भावलाई विकास गर्दै कृषि, हस्तकला, प्रविधि र मौलिक उत्पादनलाई महोत्सवसँग जोडेर बृहत ‘एक्स्पो’ का रूपमा रूपान्तरण गर्नुपर्ने भट्टराईको धारणा छ ।

“महोत्सव भनेपछि मनोरञ्जन भन्ने कुरा ठान्ने गरिन्छ, तर हामीले विगतदेखि नै यसलाई बदल्ने प्रयास गरिरहेका छौँ । स्थानीय उत्पादनदेखि विदेश निर्यात गर्ने सामग्रीलाई महोत्सवबाट प्रवर्द्धन गर्न सकिने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउने हाम्रो विश्वास छ”, उनले भने, “सडक महोत्सव केवल रमाइलो मेला मात्र होइन, यो पोखराका पर्यटन व्यवसायीको सामूहिक एकता, दूरदर्शीता र अथक प्रयासको जीवित इतिहास हो ।”

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पर्यटनमा सङ्कट आउने अवस्थामा यस महोत्सवले ‘सञ्जीवनी’ को काम गरेको बताउँछन् । “सशस्त्र द्वन्द्व, भूकम्प, कोरोना महामारी र पछिल्लो समयको जेनजी आन्दोलन होस् वा आर्थिक मन्दी, हामीले हरेक विषम परिस्थितिमा पनि महोत्सव रोकेनौँ । यसले ‘पोखरा सुरक्षित छ र बाह्रैमहिना खुला छ’ भन्ने सन्देश विश्वभर प्रवाह गर्न सफल भयौँ । यसपटक पनि दिगो पर्यटनको परिकल्पनासहित तीन दशमलव पाँच किलोमिटर सडकलाई उत्सवमय बनाउँदै छौँ”, उनले भने ।

महोत्सवका संयोजक तथा रेवानका प्रथम उपाध्यक्ष वसन्त गौतमले पोखरालाई एउटा खुला सङ्ग्रहालयको रूपमा प्रस्तुत गर्ने प्रयासलाई थप प्रभावकारी बनाउन तयारी भइरहेको बताए । उनले भने,“फिस्टेल गेटदेखि जरेवरसम्मको सडकमा सवारी निषेध गरी सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सडकमा देखाइने लोपोन्मुख सांस्कृतिक झाँकी र मौलिक नाचले पर्यटकलाई नेपालका विभिन्न संस्कृति बुझ्ने अवसर मिल्नेछ । महोत्सवलाई अङ्ग्रेजी नयाँ वर्ष गन्तव्यको रूपमा स्थापित गर्न सक्दो प्रयास गरिरहेका छौँ ।”

रेवान महासचिव वीरेन्द्र शेरचन महोत्सव केवल रमाइलोका लागि मात्र नभइ ग्रामीण अर्थतन्त्र उकास्ने माध्यम पनि बनेको बताउँछन् । “गाउँमा उत्पादन हुने कृषिउपज, सुन्तला र हस्तकलाका सामग्रीले महोत्सवमा बजार पाउँछन् । पर्यटन चलायमान भए देशकै अर्थतन्त्र चलायमान हुन्छ ।” शेरचनका अनुसार महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख झाँकी, वेषभूषा र नृत्य, चर्चित राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी, बोट रेस, वेटर रेस, टग अफ वार र पर्यटक लक्षित खेल र पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग विमर्श र वृत्तचित्र प्रदर्शनी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार