धितोपत्र बोर्डमा लाइसेन्सका लागि आवेदन दिएका ३ दर्जन ‘पीइभीसी’ सम्पर्कमा आएनन्, कुन-कुन छन् पाइपलाइनमा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका करिब ३ दर्जन प्राइभेट इक्विटी फण्ड एन्ड भेन्चर क्यापिटल ‘पीइभीसी सम्पर्कमा आएका छैनन् । लाइसेन्सका लागि बोर्डमा अनुमति माग्दै आवेदन दिएका आधा विशेष लगानी कोष प्रबन्धकहरु बोर्डको सम्पर्कमा छैनन् । अर्थात, ती इक्विटी फन्डहरु ‘फर्दर प्रोसेस’का लागि सम्पर्कमा छैनन् ।

नेपाल धितोपत्र बोर्डका एक अधिकारिले फर्दर प्रोसेसका लागि अपडेड गर्न खोज्दा केही पीइभीसी सम्पर्कमा नआएको बताए । उनले भने, ‘पाइपलाइनमा रहेका आधा पीइभीसीको अपडेट छैन । थप प्रकृयाका लागि रेस्पोन्स गरेका छैनन् ।’

त्यसो त, नियम अनुसार पीइभीसी फन्डहरुले लगानी गरेको कम्पनीको संस्थापक सेयर १ वर्षपछि बिक्री गर्न पाउने व्यवस्था छ । यद्दपि, कुनै संस्था वा व्यक्तिले होल्ड गरेको संस्थापक सेयर भने आइपीओ बाँडफाँटपछिको ३ वर्षसम्म लक इन राखिने व्यवस्था छ । यस्तो हुँदा केही लगानीकर्ताले छोटो समयमा आइपीओ बिक्री गरेर मनग्य नाफा कमाउन सकिने भन्दै आवेदन दिएका हुन् ।

‘यस्तो व्यवस्थाका कारण आकर्षित भएर आउनेको संख्या राम्रो छ । तर, पीइभीसीमा लगानी गरेको १०-१५ वर्षमा रिटन पाउने कन्सेप्ट हुन्छ । पीईको फन्डमा १ जनाले न्यूनतम ५० लाख लगानी गर्नु पर्छ । २०० भन्दा धेरै लगानीकर्ता हुन पाउँदैन । लगानीको रिटर्न लङ ट्रमको हुन्छ’ उनले भने, ‘लगानीकर्ताहरुले पीइभीसीका लागि आवेदन दिउँ, भोलिका दिनमा पछि परिन्छ कि भनेर पनि लाइसेन्सका लागि निवेदन परेको हो । उहाँहरुले आवेदन दिनुभयो । तर, बुझ्दै जाँदा पीइभीसी लङ ट्रम इन्भेष्ट जस्तो बुझ्नु भयो । अनि अहिले केही पीईहरु रेस्पोन्समा आएका छैनन् ।’

पीइभीसी सञ्चालनका लागि हिमालयन क्यापटिल, एभरेष्ट व.फन्ड, सनलाइफ क्यापिटल, सिटिजन्स क्यापिटललगायत ३५ वटा कम्पनीहरुले आवेदन दिएका छन् । यी मध्ये आधा जस्तो कम्पनीहरुको अहिले सम्पर्कमा नरहेको बोर्डका ती अधिकारीले जनाएका छन् ।

प्राइभेट इक्विटी र भेन्चर क्यापिटल भनेको के हो ?

आधुनिक अर्थतन्त्रमा व्यवसायको विकास र विस्तारका लागि पुँजीको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ। नयाँ व्यवसाय सुरु गर्न होस् वा सञ्चालनमा रहेका कम्पनीलाई अझ सशक्त बनाउन होस्, पुँजी बिना सम्भव हुँदैन। यही सन्दर्भमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई व्यवसायिक वित्तपोषणका महत्वपूर्ण स्रोतका रुपमा लिइन्छ ।

प्राइभेट इक्विटी भनेको कुनै कम्पनीको पूरै वा ठूलो अंशको सेयर खरिद गरी लगानी गर्ने पुँजीगत कोष हो । यस प्रकारको लगानी प्रायः स्थापना भइसकेका, सञ्चालनमा रहेका तथा भविष्यमा राम्रो नाफा कमाउने सम्भावना भएका कम्पनीहरुमा गरिन्छ । प्राइभेट इक्विटी फन्डले कम्पनीको इक्विटी खरिद गरी व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुन्छ र आवश्यक सुधार, पुनःसंरचना तथा व्यवसाय विस्तारमा सहयोग पुर्‍याउँछ।

निश्चित समयसम्म कम्पनीको मूल्य वृद्धि गरिसकेपछि, यस्ता फन्डहरुले आफ्नो लगानी सेयर बजारमार्फत सर्वसाधारणलाई बिक्री गर्ने वा अन्य लगानीकर्तालाई हस्तान्तरण गरी बाहिरिने रणनीति अपनाउँछन् । तुलनात्मक रुपमा प्राइभेट इक्विटीको लगानी कम जोखिमयुक्त मानिन्छ, किनभने यसमा व्यवसाय पहिले नै सञ्चालनमा रहेको हुन्छ ।

यता, भेन्चर क्यापिटल भनेको प्राइभेट इक्विटी फाइनान्सिङकै एक विशेष रुप हो । जसले मुख्यतया सुरुवाती चरणका स्टार्टअप तथा नवप्रवर्तनमा आधारित व्यवसायहरुमा लगानी गर्छ। नयाँ विचार, नवीन प्रविधि, बौद्धिक सम्पत्ति, नयाँ उत्पादन वा सेवासँग सम्बन्धित व्यवसायहरुलाई भेन्चर क्यापिटलले भविष्यको सम्भावनाका आधारमा पुँजी उपलब्ध गराउँछ ।

यस्ता व्यवसायहरु सुरुवाती चरणमा भएकाले जोखिम उच्च हुन्छ, तर सफल भएमा उच्च प्रतिफल प्राप्त हुने सम्भावना पनि उत्तिकै हुन्छ। भेन्चर क्यापिटलले प्रायः धेरै कम्पनीहरुमा सानो–सानो मात्रामा संयुक्त लगानी गर्दै जोखिम विभाजन गर्ने रणनीति अपनाउँछ ।

प्राइभेट इक्विटी र भेन्चर क्यापिटलबीच मुख्य भिन्नता लगानीको चरण, जोखिम र उद्देश्यमा देखिन्छ। जहाँ भेन्चर क्यापिटलले व्यवसाय सुरु गर्ने चरणमा पुँजी उपलब्ध गराउँछ, त्यहीं प्राइभेट इक्विटीले स्थापित व्यवसायको विस्तार र सुधारमा ध्यान केन्द्रित गर्छ । भेन्चर क्यापिटल उच्च जोखिमयुक्त भए पनि नवप्रवर्तन र उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ भने प्राइभेट इक्विटीले व्यवसायलाई स्थायित्व, सुशासन र दीर्घकालीन वृद्धि प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार