CLI

कक्षा ५,८ र १० को सामाजिक बिषयका किताब परिबर्तन हुने

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको प्रक्रिया सुरु भइसकेको बताएका छन्। शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तर्क्रियामा उनले परिमार्जित पाठ्यपुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिए।

उनका अनुसार पाठ्यपुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल गरिएको छ र लेखकहरूलाई आवश्यक अभिमुखीकरण पनि प्रदान गरिएको छ। विविधताभित्र एकता खोज्ने दृष्टिकोणलाई आत्मसात गर्दै पाठ्यपुस्तकमा राष्ट्रिय भावना, नागरिकको भूमिका र असल समाज निर्माणसम्बन्धी विषयलाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे। साथै, केही विषय क्षेत्रमा विज्ञ जनशक्ति पाउन कठिनाइ रहेको उल्लेख गर्दै आवश्यकता अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शिक्षा पत्रकार समूहले हाल प्रयोगमा रहेका पाठ्यपुस्तकहरूको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रस्तुतिकरण गर्दै डा. होमराज आचार्यले पाठ्यपुस्तकमा अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायको समेटाइ, भाषाको प्रयोग र विषयवस्तुको समावेशीताबारे सूक्ष्म विश्लेषण गरे। अध्ययनमा केही सामग्री विभेदरहित र बालबालिकामैत्री नदेखिएको औँल्याइयो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले कक्षाकोठामै समाजको प्रतिबिम्ब देखिनुपर्ने बताए। उनका अनुसार पाठ्यसामग्री दक्ष र विज्ञ व्यक्तिबाट विभिन्न चरण पार गर्दै निर्माण गरिन्छ र प्रत्येक पाठलाई सकेसम्म समावेशी बनाउने प्रयास भइरहेको छ।

सेभ द चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम विकास तथा गुणस्तर सल्लाहकार डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच अझै खाडल रहेको बताउँदै कार्यान्वयन तहमा पनि चुनौती देखिएको उल्लेख गरिन्। पाठ्यपुस्तकले विद्यालय र घरबीचको सम्बन्ध मजबुत बनाउन नसकेको भन्दै उनले ती कमजोरी पूरा गर्न परिपूरक पाठ्यसामग्री विकास गर्नुपर्ने धारणा राखिन्। यसका लागि स्पष्ट मार्गचित्रसहित अघि बढ्नुपर्ने उनको सुझाव थियो।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिमार्जन सम्भव रहेको उल्लेख गर्दै पाठ्यपुस्तक निर्माणअघि समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरूको सूची तयार गरी उनीहरूको योगदान प्रस्तुत गर्नुपर्ने बताए। विभेद धर्म, जात र लिङ्गका आधारमा देखिए पनि मूल कारण वर्गीय भएको तर्क गर्दै उनले बहुसांस्कृतिक नायकको पहिचान र सम्मान स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए। विद्यार्थीलाई विभेदप्रति जानकार, सचेत र संवेदनशील बनाउन सके विभेद न्यूनीकरण गर्न सकिने उनको धारणा थियो।

कार्यक्रममा विद्यार्थी प्रतिनिधि बेबिसा मग्रान्तीले पाठ्यक्रममा जेन–जी आन्दोलनसम्बन्धी विषय समावेश गर्न र पाठ्यपुस्तकलाई रङ्गिन तथा गुणस्तरीय बनाउन माग गरिन्। सहभागीहरूलाई पाँच समूहमा विभाजन गरी सुझाव संकलन गरिएको थियो।

पूर्व अध्यक्ष सुदर्शन सिग्देलले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट प्राप्त सुझावहरू पाठ्यसामग्री निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरिन्। सहभागीहरूको सुझाव समेटिएको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने उनले जानकारी दिइन्।

Leave Your Comment

Related News