६ अर्बले बढ्दा २४ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं । पछिल्लो समय ६ अर्ब रुपैयाले वृद्धि हुदाा सार्वजनिक ऋण २४ खर्ब रुपैयाँले नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठमसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । जसमा बाह्य अर्थात् वैदेशिक ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत अर्थात १२ खर्ब सात अर्ब ८६ करोड ३२ लाख रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ प्रतिशत अर्थात् ११ खर्ब ९२ अर्ब ४८ करोड चार लाख रुपैयाँ रहेको छ ।

सरकारले बाह्य ऋणको लागि बहुपक्षिय र द्धिपक्षीय समझदारी र आन्तरिक ऋण उठाउनको लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको प्रयोग गर्छ । समीक्षा अवधिमा बाह्य ऋण मध्ये बहुपक्षिय ऋणको हिस्सा १० खर्ब ७१ अर्ब ११ करोड ७८ लाख रुपैयाँ र द्धिपक्षिय ऋणको हिस्सा १ खर्ब ३६ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ रहेको छ । आन्तरिक ऋण मध्ये ट्रेजरी बिलको ४ खर्ब १२ अर्ब ६९ करोड २२ लाख रुपैयाँ, विकास ऋणपत्र ७ खर्ब ६४ अर्ब ९४ करोड ७० लाख रुपैयाँ, नागरिक बचपतत्र १० अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक रोजगार बचतपत्रको १७ करोड ५४ लाख रुपैयाँ र अन्तराष्ट्रिय मुद्रा कोष ऋणपत्र (आइएमएफ) ३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

कार्यालयका सूचना अधिकारी डिलारामा गिरीले वैशाखको तुलनामा जेठमा सार्वजनिक ऋण ०.२७ प्रतिशतले वृद्धि भएको जानकारी दिए । सूचना अधिकरी गिरीका अनुसार वैशाखमसान्तसम्ममा २३ खर्ब ९३ अर्ब ८६ करोड तीन लाख रुपैयाँ सार्वजनिक ऋण रहेकोमा जेठमा मात्रै ६ अर्ब ४८ करोड ३३ अर्ब रुपैयाँले सार्वजनिक ऋण बढेको हो ।

समीक्षा अवधिमा सार्वजनिक ऋण लिए वापत् २ खर्ब ७१ अर्ब १२ करोड ४९ लाख रुपैयाँ साँवा ब्याज भुक्तानी गरिएको छ । जसमा आन्तरिक ऋणको २ खर्ब २७ अर्ब १२ करोड ७२ लाख रुपैयाँ र बाह्य ऋणको ४३ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ सावा र ब्याज भुक्तानी गरिएको छ । आन्तरिक ऋणको साँवा १ खर्ब ६१ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ र ब्याज ६५ अर्ब ५० करोड ३८ लाख रुपैयाँ र बाह्य ऋणको साँवा ३५ अर्ब ७० करोड ६४ लाख रुपैयाँ र ब्याज ८ खर्ब २९ करोड १३ लाख रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार