काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले निर्वाचन आयोगको निर्देशनअनुसा निर्वाचन आचारसंहिता लागू भएसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै आज एक निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचन अवधिमा राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन अभियानसँग सम्बन्धित खर्च–आम्दानी व्यवस्थापनका लागि छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन प्रयोजनका लागि खोलिने खाताहरूमा विशेष निगरानी राख्नुपर्नेछ। निर्वाचन आयोगबाट अनुमति प्राप्त उम्मेदवार वा दलले मात्र यस्तो खाता सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार निर्वाचन अभियानका क्रममा हुने सबै आर्थिक कारोबार सोही खातामार्फत गर्नुपर्नेछ। साथै, निर्वाचन खर्चको पारदर्शिता सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरूले आवश्यक विवरण समयमै उपलब्ध गराउनुपर्नेछ।
नेपाल राष्ट्र बैंकले निर्वाचनको स्वच्छता र पारदर्शिता कायम गर्न यो व्यवस्था गरिएको स्पष्ट पारेको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूले प्रचलित कानुन तथा निर्देशनको पूर्ण पालना गर्नुपर्ने पनि जनाएको छ। उमेदवारले निर्वाचन कार्यालयबाट सिफारिस लिएर बैंक भएपश्चात यस प्रकारकााे खाता खुल्नेछ।


