स्वीट्जरल्याण्डको पहिलो लगानी नेपालको चाउचाउ उद्योगमा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि स्वीट्जरल्याण्का राजदूत डानियल मेउल्ली मोन्टेलोनसँग भेटका क्रममा नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न आग्रह गरे । बुधबार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका राजदूत मोन्टेलोनसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक लगानी र वैदेशिक सहयोग उत्प्रेरित हुने बताएका थिए । तर, पछिल्लो समय नेपालमा स्वीट्जरल्याण्डबाट आउने लगानी घट्दै गएको छ । विगत तीन वर्षदेखि भने स्वीट्जरल्याण्डबाट नेपालमा लगानी प्रतिबद्धता समेत आएको छैन ।

यसैबीच उद्योग विभागका अनुसार नेपालमा स्वीटजरल्याणको लगानी प्रतिबद्धता आएको भने करिब चार दशक भएको छ । स्वीट्जरल्याण्डका लगानीकर्ताले २०४४ साल असोज २९ गते चाउचाउ उत्पादन गर्ने भन्दै एक करोड २८ लाख ३१ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । जसमा स्वीट्जरल्याण्डाका लगानीकर्ताको लगानी ८० प्रतिशत र नेपालीको लगानी २० प्रतिशत हुनेगरी विभागसमक्ष प्रतिबद्धता जनाएका थिए । काठमाडौं भोटाहिटीमा स्थापना गरिने उक्त चाउचाउ उद्योग साना उद्योगअन्तर्गत दर्ता गराइएको थियो । त्यसपछि २०४६, २०४७, २०४८, २०५२ हुँदै विभिन्न समयमा त्यहाँका लगानीकर्ताहरूले नेपालमा लगानी प्रतिबद्धता जनाएका छन् । सुरुवाती लगानी प्रतिबद्धता जनाएको एक दशकको अवधिमा उनीहरूले १० वटा उद्योगका लागि लगानी प्रतिबद्धता जनाएका छन् । सो अवधिमा मोरङमा कोल्ड स्टोर, सोलुखुम्बुमा जलविद्युत्, काठमाडौं दरबारमार्गमा होटल, नवलपरासीमा बियर उद्योग, काठमाडौं बिजुलीबजारमा इन्सपेक्सन, काठमाडौं ठमेलमा रेस्टुरेन्ट र भक्तपुरमा कार्पेट उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरूले स्वदेशी लगानीकर्तासँग मिलेर उक्त लगानी प्रतिबद्धता जनाएका थिए । कोल्ड स्टोरका लागि २३ लाख १६ हजार छ सय १७ रुपैयाँ, जलविद्युत्का लागि दुई करोड ३४ लाख ४४ हजार रुपैयाँ, होटलका लागि ७३ लाख १२ हजार नौ सय १९ रुपैयाँ, बियर उद्योगका लागि २४ करोड ४४ लाख ७५ हजार सात सय रुपैयाँ, ‘इन्सपेक्सन’का लागि ७९ लाख एक हजार चार सय रुपैयाँ, रेस्टुरेन्टका लागि एक करोड १८ लाख ३६ हजार रुपैयाँ, होटलका लागि दुई करोड ३९ लाख ३२ हजार पाँच सय रुपैयाँ र गलैँचा उद्योगका लागि तीन करोड ३५ लाख २८ हजार पाँच सय रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै विभागका अनुसार स्वीटजरल्यणका लगानीकर्ताले २०७८ असोज २४ गते होटलका लागि लगानी प्रतिबद्धता जनाएपछि लगानी प्रतिबद्धता र रकम भित्र्याएका छैनन् । असोज २४ गते काठमाडौंमा होटल र रेस्टुरेन्ट सञ्चालन गर्ने भन्दै पाँच करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरूले ३० वटा बेड र ३० सिट क्षमताको रेस्टुरेन्ट सञ्चालनको लागि लगानी गर्ने र २५ जनालाई रोजगारी दिने भन्दै पर्यटन क्षेत्रअन्तर्गत साना उद्योग विभाग समक्ष दर्ता गराएका थिए । स्वीटजरल्याण लगानीकर्ताहरूको हालसम्म आएको लगानीप्रतिबद्धतामध्ये सो नै अन्तिम रहँदा कुल ६१ वटा उद्योग तथा व्यवसायका लागि लगानी प्रतिबद्धता आएको हो । ६१ वटा उद्योग तथा व्यवसायका लागि पाँच अर्ब ३६ करोड ४३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरूले पर्यटन, कृषि, सूचना प्रविधि, ऊर्जा ९जलविद्युत्०, उत्पादनलगायतका उद्योगमा लगानी गर्न चाहेका हुन् ।

त्यस्तै स्वीट्जरल्याण्डका लगानीकर्ताहरूले पछिल्लो समय भने २०७४, २०७५ र २०७८ पछि भने लगानी प्रतिबद्धता जनाएका छैनन् । २०७४ मा रेस्टुरेन्टसहितको होटल सञ्चालनका लािग एक करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । भक्तपुरमा स्थापना गर्ने उक्त होटल ४० बेड र ७० सिट क्षमताको रहने बताइएको थियो । २०७५ पुसमा कृषिजन्य सामग्री तरकारी, फलफूल खेती गर्ने भन्दै दुई करोड ५० लाख रुपैयाँ र ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । चितवनमा खेती गर्ने र २१ जनालाई रोजगारी दिने भनेको उक्त लगानी प्रतिबद्धतामा स्वीट्जरल्याण्डका लगानीकर्ताको ५१ प्रतिशत र नेपाली लगानीकर्ताको ४९ प्रतिशत रहेको थियो । स्वीट्जरल्याण्डका लगानीकर्ताले यसरी अर्ब लगानी प्रबिद्धता जनाए पनि ज्यादै न्यून मात्र लगानी स्वीकृत गराएका छन् । लगानी प्रतिबद्धताको करिब ३० प्रतिशत मात्र लगानी प्रतिबद्धता भित्रिएको विभागका अधिकारीहरूले बताएका छन् । त्यसैले गर्दा लगानी प्रतिबद्धता र रकम भित्र्याउन सरकारले पहल गर्नु आवश्यक रहेको छ । प्रधानमन्त्री ओलीले राजदूत मोन्टेलोनसँग आग्रह गर्दैमा अबको समयमा लगानी भित्रिएला भन्ने विषयमा विश्वस्त हुने आधार भने छैन । लगानीका साथै भेटको क्रममा राजदूत मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए ।

नेपालमा लगानी गर्न स्वीस राजदूतलाई पनि आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।शिष्टाचार भेटका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेकी नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए ।

उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे ।नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड–१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले गत जुलाईमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए ।राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुई पक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाए । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार