७ प्रतिशतले बढ्यो विदेशी लगानी प्रतिवद्धता

Prabhu

काठमाडौं ।   विदेशी लगानी प्रतिबद्धतामा सात प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको नौ महिना ९साउन–चैत०मा मुलुकमा आउने प्रत्यक्ष विदेशी लगानी एक अर्ब ९८ करोड ७६ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको नौ महिनामा २८ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकामा यस वर्ष चैतसम्म ३० अर्ब नौ करोड ९५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

यस वर्ष चैतमा मात्रै ९६ करोड ५० लाख रुपैयाँ र गत आर्थिक वर्षको चैतमा सात अर्ब ५५ करोड १८ लाख रुपैयाँ रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार विभिन्न मुलुकले नेपालको उद्योग तथा व्यवसायमा लगानी गर्दै आएका छन् । नेपालको उद्योग क्षेत्रमा भारत, अमेरिका, सिंगापुरलगायतका मुलुकका लगानीकर्ताले धेरै लगानी प्रतिबद्धता व्यक्त गर्दै आएको विभागका अधिकारीहरू बताउँछन् ।

विदेशी लगानी भित्रिने क्रममा १० वटा मुलुकले करिब २५ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता जनाएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा दक्षिण कोरिया, चीन, भारतलगायतका १० वटा मुलुकमार्फत करिब २४ अर्ब ७७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार दुई सय एकवटा उद्योगका लागि सो लगानी प्रतिबद्धता आएको हो । जसमा संयुक्त लगानीका ३८ वटा रहेकोे विभागका सूचना अधिकारी अर्जुन सेन ओलीले जानकारी दिए । सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउनेमा दक्षिण कोरिया, चीन र भारतलगायतका मुलुक रहेको विभागका निर्देशक शंकरसिंह धामीले बताए । उनका अनुसार विदेशी लगानी प्रतिबद्धता मासिकरूपमा अर्ब रुपैयाँबराबरको आउनेगरेको छ, तर प्रतिबद्धताअनुरूप तुरुन्त रकम लेखांकन गर्ने भन्ने गरिएको छैन । त्यसैले गर्दा लगानीकर्ताले आफ्नो इच्छाअनुसार विभिन्न समयमा नेपालमा लगानी भित्र्याउने गरेका छन् ।

दक्षिण कोरियाबाट १२ अर्ब ८४ करोड रुपैयाँ, चीनबाट नौ अर्ब ४२ करोड रुपैयाँ, भारतबाट दुई अर्ब ३९ करोड रुपैयाँ, अमेरिकाबाट एक अर्ब १९ करोड रुपैयाँ, भियतनामबाट २६ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै श्रीलंकाबाट २२ करोड रुपैयाँ, बेलायतबाट १३ करोड रुपैयाँ, जापानबाट १० करोड रुपैयाँ, स्वीटजरल्यान्डबाट आठ करोड १० लाख रुपैयाँ र रसियाबाट आठ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै, फागुनमा मात्र छ अर्ब ४७ करोड रुपैयाँ, माघमा ३४ करोड ५० लाख रुपैयाँ र पुसमा एक अर्ब ७३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

चालू आर्थिक वर्षको वार्षिक लक्ष्य भने ३८ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता रहेको निर्देशक धामीले बताए । फागुनसम्मको अवधिमा भने २९ अर्ब १३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

विदेशी लगानीकर्ताले विभागमार्फत न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार