RE
Global College

रारामा अस्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट खुल्दै :लगानी सम्मेलन

काठमाडौं ।  ‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिएको छ। राराको मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानीमा खोल्न लागिएको पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले साझेदारी गर्ने भएको हो।

काठमाडौंमा आयोजना भइरहेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार ‘रारा रिसोर्ट’को लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन्।

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुने रारा होल्डिङ्स प्रालिका शाहले जानकारी दिए। उनले आयोजनामा दोस्रो चरणमा थप ४० करोड रुपैयाँ लगानी हुने बताए।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्राेत तथा साधनको अधिकतम प्रयोग हुने उनको भनाइ छ। रिसोर्टमा सुइट ब्लक, डिलक्स ब्लक, स्ट्यान्डर्ड ब्लक र मेन ब्लक गरी चार प्रकारका भिल्लाहरू निर्माण गरिनेछ।

रिसोर्टमा एट्याच बाथरुमसहितका ६० कोठा हुनेछन्, जसमध्ये पहिलो चरणमा ४० वटा कोठा तयार गरिने शाहले बताए। यस्तै, रेस्टुरेन्ट, मिटिङ हल, साउना, स्टिम, जिम हललगायत लक्जरी रिसोर्टमा हुने सम्पूर्ण सुविधा उपलब्ध हुने बताइएको छ।

समुद्र सतहदेखि ३७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकनसमेत गर्न सकिनेछ। प्रकृतिप्रेमी खर्चालु पर्यटकलाई लक्षित गरेर रिसोर्ट निर्माण थालेको शाहको भनाई छ।

‘यो कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुनेछ, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्,’ शाहले भने, ‘यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’

यो रिसोर्टले रारामा लक्जरी रिसोर्टको अभावसमेत पूरा गर्ने अपेक्षा गरिएको छ। एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत् क्षेत्रमा लगानी रहेको छ। यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।

Leave Your Comment

Related News