अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने

Prabhu

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने बताएको छ । मंगलबार चालु आर्थिक वर्षको राष्ट्रिय लेखा सम्वन्धि वार्षिक तथ्यांकहरु सार्वजनिक गर्दै औद्योगिक क्षेत्रहरु मध्ये अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने प्रक्षेपण गरिएको छ ।

कृषि, वन तथा मत्स्य २४ दशमलव शून्य नौ प्रतिशत, खानी तथा उत्खनन शून्य दशमलव ४७ प्रतिशत, उद्योग चार दशमलव ८७ प्रतिशत, विद्युत्, ग्यास वाष्प तथा वातानूकुलित आपूर्ति सेवा एक दशमलव ८१ प्रतिशत, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप शून्य दशमलव ४४ प्रतिशत, निर्माण पाँच दशमलव ४१ प्रतिशत, गाडी तथा मोटरसाइकल १३ दशमलव ८४ प्रतिशत, यातायात तथा भण्डारण सात दशमलव २८ प्रतिशत, आवास तथा भोजन सेवा दुई दशमलव ४२ प्रतिशत योगदान रहने बताइएको छ ।

त्यस्तै, सूचना तथा सञ्चार एक दशमलव ९४ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्र छ दशमलव ८२ प्रतिशत, घरजग्गा कारोबारको सेवा आठ दशमलव ३३ प्रतिशत, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप शून्य दशमलव ९९ प्रतिशत, सेवा शून्य दशमलव ७१ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप नौ दशमलव ६३ प्रतिशत, शिक्षा आठ दशमलव ५० प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्य एक दशमलव ८७ प्रतिशत र अन्य सेवाका क्रियाकलाप शून्य दशमलव ५७ प्रतिशत योगदान रहने बताइएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षका लागि अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करणअनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई १८ भागमा वर्गीकरण गरी कुल मूल्य अभिवृद्धिदरको वृद्धिदर आकलन गरिएको छ ।सम्पूर्ण आर्थिक क्रियाकलापको अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करणअनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई २१ वटा मुख्य क्रियाकलापमा वर्गीकरण गरिएको छ । नेपालको सन्दर्भमा २१ वटा औद्योगिक क्रियाकलापमध्ये बाह्य संघसंस्था एवं यसका अंगका क्रियाकलापलाई छोडेर पछिल्ला तीनवटा आर्थिक क्रियाकलाप (कला, मनोरञ्जन तथा मनोविनोद, अन्य सेवा प्रदान गर्ने क्रियाकलाप र रोजगारदाताका रूपमा घरपरिवारका घरायसी क्रियाकलाप, आफ्ना प्रयोगका लागि छुट्याउन नसकिने विभिन्न वस्तु तथा सेवा उत्पादन)लाई अन्य सेवाका क्रियाकलापमा समावेश गरी १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार