औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सात करोड ६५ लाखको कारोबार

काठमाडौं । नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सात करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको सो महोत्सवमा प्रत्यक्ष/अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी सो रकम बराबरको कारोबार भएको जनाइएको छ । महोत्सवको दुई लाख ५३ हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्र असहज भएको अवस्थामा पनि उपभोक्ताहरूको स्वदेशी उत्पादनप्रति अपार माया देखिएको बताए । प्रदर्शनीका सहभागीहरूको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको पाइएको उनले बताए ।

भूकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरू सताइएको भन्दै उनले साना उद्योगहरूको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए । महोत्सवको समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पुर्याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताएका थिए । पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेको भन्दै अर्थसचिव मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा बृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सरकारले योजना बनाइरहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए । तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक हुने गरी कर निर्धारण गर्न सकिने बारे छलफल भइरहेको उनको भनाइ थियो ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवास चन्द्र घिमिरेले प्रदर्शनीकै दौरानमा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महमेला प्रभावकारी भएको बताए । मौरी पाल्ने किसान विस्थापनको संघारमा पुगेको भन्दै उनले यो व्यवसायलाई सरकारले सूक्ष्म ढंगले सम्बोधन गर्नुपर्ने उल्लेख गरे । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको यो पटक १७औँ शृंखला हो । महोत्सवमा नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत समेत प्रदर्शनी गरिएको थियो ।

भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा दुई सय ५० वटा स्टलको व्यवस्था रहेको थियो । मेलामा काठ÷ढुङ्गा÷धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू बाँस, बेतबाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरू तथा अन्य ऊनी कपडाहरू, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नेपाली हाते कागजका वस्तुहरू, परम्परागत हस्तकलाका सामानहरू, कृषि तथा वनमा आधारित उत्पादनहरू, वैकल्पिक÷नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार