CLI
Global College

स्टार्ट अप उद्यमीले १९ करोड ४० लाख रुपैयाँ लिन काठमाडौं आउन नपर्ने

काठमाडौं । औद्योगिक विकास प्रतिष्ठानले कर्जा प्रदान गर्नका लागि १८३ परियोजना छनौट गरे सँगै उनीहरु कर्जा लिनको लागि काठमाडौं धाउन नपर्ने भएको छ । छनौट भएका परियोजना तथा उद्यमीहरुलाई सरकारले उनीहरुलाई पायक पर्ने स्थानमा रहेको वाणिज्य बैंकका शाखाहरुबाट कर्जा रकम उपलब्ध गराउने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । सातवटै प्रदेशका करिब ३० भन्दा बढी जिल्लाका स्टार्ट अप उद्यमीहरु छनौट भएको हुदाँ उहाँहरुको सजिलोको लागि नजिकको वाणिज्य बैंकहरुबाट कर्जा रकम उपलब्ध गराउन लागिएको प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरले इक्विटी नेपाललाई बताए ।

त्यस्तै, सूचना अधिकारी घिमिरेले वाणिज्य बैंकका शाखामार्फत् १८३ वटा परियोजनालाई १९ करोड ४० लाख रुपैयाँ वितरण गर्न लागिएको बताए ।‘परियोजना छनौट पश्चयात हामीले उद्यमीहरु सँग कर्जा लिनका लागि पाएक पर्ने स्थान टिपोट गर्न निर्देशन दिएका थियो,’ घिमिरेले इक्विटी नेपाललाई भने,‘यसरी टिपोट गरेको स्थान नजिक रहेको वाणिज्य बैंकहरुमा प्रतिष्ठानले रकम पठाएको हो । यो सँगै अबको करिब एक साता भित्रमा उनीहरुले वाणिज्य बैंकको कार्यालयहरुबाट कर्जा झिकी उद्यम गर्न सक्छन् ।’ वाणिज्य बैंकले सेवा प्रवाहस्वरुप ३ प्रतिशत अर्थात् ५८ लाख रुपैयाँ लिनेछ भने बाँकी रकम प्रतिष्ठानले खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि स्टार्ट अप उद्यम शीर्षकमा २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै अबको ३० दिन भित्र तोकिएको बैंक शाखा कार्यालयमा उद्यमीहरु जानुपर्ने छ यदि सम्पर्क नगरेको खण्डमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुनेछ। सिफारिसमा परेका परियोजनाहरुले परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । परियोजनाले दोस्रो वर्षबाट साँवा र ब्याज बापतको रकम तिर्न सुरु गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।
सिफारिसमा परेका परियोजना प्रस्तावकहरुले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यानभ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकता, ०७९÷०८० को करचुक्ता, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको ३ प्रति फोटो, फर्म वा कम्पनीको छाप लिएर तोकिएको बैंक शाखा कार्यालयमा जानुपर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार काठमाडौंको हकमा थापाथली, ललितपुरको हकमा लगनखेल र भक्तपुरको हकमा ठिमी कार्यालयमा जानु पर्नेछ ।

कर्जा सूचना केन्द्रको प्रतिवेदनमा यसअघि सहुलियत कर्जा लिएको फेला परेमा परियोजना प्रस्ताव र सिफारिस रद्ध हुने प्रतिष्ठानको सूचनामा उल्लेख छ । अन्य जिल्लाको हकमा छिट्टै शाखा कार्यालय तोकिने प्रतिष्ठानले जनाएको छ । कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिइनेछ ।

प्रतिष्ठानले गत माघ १९ देखि फागुन १० सम्म ‘स्टार्टअप’ उद्यम कर्जाका लागि मागेको प्रस्तावमा १ हजार ६ सय ५८ परियोजनाले प्रस्ताव दर्ता गराएका थिए । प्रतिष्ठानले चैत २ मा सूचना निकाल्दै स्टार्टअप उद्यम कर्जाका लागि दर्ता भएको १ हजार ६ सय ५८ परियोजनाको विवरण सार्वजनिक गरेको थियो । वैशाख ९ मा प्रतिष्ठानले पहिलो चरणमा योग्य प्रस्तावकको सूचीमा ३ सय ९४ परियोजना छानेको थियो । प्रतिष्ठानका अनुसार गत वैशाख १७ देखि सुरु भएको परियोजनाको प्रस्तुतीकरण जेठ २ गतेसम्म चलेको थियो । प्रस्तुतीकरणमा छुटेकाका लागि सूचना निकालेर प्रतिष्ठानले जेठ ६ गते सम्म समय दिइएको थियो । यद्यपी ३९८ परियोजना मध्ये ३३५ वटा परियोजनाले मात्र प्रस्तुतिकरण गरेको थियो ।

Leave Your Comment

Related News