लगानी बोर्ड खारेज गर्न सांसद प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् ।

सांसद सुवालले विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको सो बोर्ड तत्काल खारेज गर्नुपर्ने बताए । ‘विदेशी पूँजी ल्याएर देश विकास हुँदैन , बरु उपनिवेश हुन्छ’, उनले संसदमा भने,‘ भारतमा व्यापार गर्न आएको इष्ट इण्डिया कम्पनीले भारतलाई २१० वर्ष उपनिवेश बनाएको थियो । त्यसैले गर्दा विदेशी लगानी ल्याउने बोर्डलाई खारेज गर्नु अहिलको अवाश्यकता हो । ’
सरकारले जग्गा र भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी त्यहाँ लगाउने भनेको गाईमारी बाघ पोस्ने खालको नीति भएकाले त्यो ठिक नभएको बताए । हाम्रो जग्गा, हाम्रो श्रम, अनि विदेशी पूँजीको रजाई गर्ने खालको सरकारको नीति रहेकाले त्यसमा सहमत हुन नसकिने पनि सांसद सुवालले बताए ।

सांसद सुवालले काठमाडौँ उपत्यका भित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन पनि सरकार समक्ष माग गरे । काठमाडौँ उपत्यकाको वातावरण बिग्रन नदिन पनि ती औद्योगिक क्षेत्रहरु यहाँबाट हटाउनुपर्ने उनको भनाई थियो । ‘काठमाडौंमा भएको प्रदुषणलाई हटाउनु आवश्यक रहेको छ , यसका लागि उपत्यका भित्रका सबै औद्योगिक क्षेत्र हटाउनु आवश्यक रहेको छ, सांसद सुवालले भने । सांसद सुवालले नेपालको स्रोत, साधन परिचालन हुनेगरी औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार