३  अर्ब रुपैयाँले कमी आँउदा पनि विदेशी लगानीकर्ताले १० अर्ब लाभांश लगे

Garima_Business-Loan3

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालको उद्योग तथा व्यवसायमा लगानी गरे पश्चयात प्राप्त गर्ने लाभांश रकममा ३  अर्ब रुपैयाँले कमी आएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा विदेशी लगानीकर्ताले लैजाने लाभांश रकम ३ अर्ब ८५ करोड २७ लाख रुपैयाँले कमी आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशी लगानीकर्ताले लगानी प्रतिफल स्वरुप ९ अर्ब ९७ करोड २८ लाख रुपैयाँ लाभांश लगेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा १३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो  ।

विभागका निर्देशक शंकर सिंह धामीले मासिक रुपमा करोडौँ लाभांश वितरण गर्दै आएको कारण लाभांश रकमको वृद्धिदर देखिएको बताए । लाभांश लगानीकर्ताले आफूलाई चाहे पश्चयात राष्ट्र बैंकमा लेखांकन पश्चयान लैजाने गरेका छन्, उनले भने । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ, भदौमा चार करोड ७६ लाख रुपैयाँ, असोजमा एक करोड १४ लाख रुपैयाँ कात्तिकमा एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ, पुसमा आठ करोड ७३ लाख रुपैयाँ, माघमा छ अर्ब ९७ करोड रुपैयाँ, फागुनमा ५१ करोड १८ लाख रुपैयाँ, चैतमा तीन करोड तीन लाख रुपैयाँ र वैशाखमा २४ करोड १७ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । जेठमा मात्र ६८ करोड २३ लाख रुपैयाँ लाभांश् वितरण गरिएको छ । उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् ।

निर्देशक धामीले समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको बताए । उनले चालू आर्थिक वर्ष ११ महिनाको अवधिमा ५२ वटा उद्योगको लागि ९ अर्ब ५१ करोड ४५ रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । जेठमा मात्र ९ वटा उद्योगका लागि ४६ करोड १० लाख रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा ५६ वटा र जेठमा मात्र ७ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ । यसैबीच नेपालमा लगानी गरी सकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ ।

त्यस्तै, विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार