CLI
Global College

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १ खर्ब ३९ अर्ब २६ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै मूल्यको जस्ता पाता निर्यात भएको छ। कुल निर्यातमध्ये १० अर्ब ६ करोड १० लाख रुपैयाँ बराबरको जस्ता पाता निर्यात भएको छ। यो कुल निर्यातको ७.७ प्रतिशत हिस्सा हो।

गत आवको सोही अवधिको तुलनामा जस्ता पाताको निर्यात आधाभन्दा बढीले बढेको छ। गत आवको जेठ मसान्तसम्म ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको जस्ता पाता निर्यात भएको थियो।

निर्यातमा अनुदानको व्यवस्थाले जस्ता पाताको उत्पादन बढेको व्यावसायीहरु बताउँछन्। गत आवको बजेट मार्फत तत्कालिन अर्थमन्त्री जर्नादन शर्माले स्वदेशी उत्पादन निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्थ गर्दै निर्यात सुधार गर्ने घोषणा गरेका थिए।

निर्यातमा सरकारले अनुदान दिने घोषणाबाट व्यावसायी उत्साहित भएसँगै जस्ता पाताको उत्पादन बढेर निर्यात बढेको हो।

नेपालबाट निर्यात हुने वस्तुमा दोस्रो स्थानमा पोलिस्टर धागो रहेको छ। यस अवधिमा १० अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको पोलिस्टर धागो निर्यात भएको छ। यो कुल निर्यातको ७.२ प्रतिशत हो।

तेस्रो स्थानमा ऊनी कार्पेट रहेको छ। जेठ मसान्तसम्म ९ अर्ब ७३ करोड रुपैयाँको ऊनी कार्पेट निर्यात भएको छ।

यस्तै जुस ७ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ, अलैंची ७ अर्ब ४७ करोड २६ लाख रुपैयाँ, प्लाई हुड ६ अर्ब ८८ करोड ३ लाख रुपैयाँ, पाम आयल ६ अर्ब ३१ करोड ८२ लाख रुपैयाँ, जुट ६ अर्ब १९ करोड ३० लाख रुपैयाँ, तयारी पोशाक ५ अर्ब ८० करोड २९ लाख रुपैयाँ र चियाँ ३ अर्ब १४ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

Leave Your Comment

Related News