६१ अर्ब ९० करोड आयो वैदेशिक लगानी

काठमाडौं । मुलुकमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढेको छ । उद्योग विभागका अनुसार वैदेशिक लगानी प्रतिवद्धतास्वरुप गत आर्थिक वर्ष २०८०÷८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ आएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० कोे तुलनामा ६१.१७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा विदेशी लगानीस्वरुप ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ आएको थियो ।

विभागका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा उक्त लागनी प्रतिवद्धता ४०७ वटा उद्योग र २२ हजार ९४ जनालाई रोजगारी सहित आएको हो । आर्थिक वर्ष २०७९÷८० मा तीन सय २७ वटा उद्योग र १७ हजार १२ जनालाई रोजगारी प्रतिवद्धता सहित लगानी प्रतिवद्धता आएको हो ।

आर्थिक वर्ष २०८०÷८१ को असारमा मात्रै १७ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । उक्त लगानी प्रतिवद्धता ४८ वटा उद्योग र १ हजार ९४८ जनालाई रोजगारी सहित आएको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी विदेशी लगानी प्रतिवद्धता पर्यटनमुलुकलाई आएको छ भने त्यसपश्चयात क्रमशः सेवा, सूचना प्रविधि,उत्पादन, पूर्वाधारमूलक र कृषिमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि आएको छ । पर्यटनमूलक उद्योगमा ४ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ, सेवामूलक उद्योगमा २ अर्ब ९६ करोड रुपैयाँ, सूचनाप्रविधिमूलक उद्योगमा ४१ करोड ३० लाख ३० हजार रुपैयाँ, उत्पादनमूलक उद्योगमा २८ करोड रुपैयाँ , पूर्वाधारमूलक उद्योगमा २ करोड रुपैयाँ र कृषिमूलक उद्योगमा २ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उक्त लगानी प्रतिवद्धता ६९ वटा पर्यटनमूलक, ३५ वटा सेवामूलक, २८ वटा सूचनाप्रविधिमूलक, ५ वटा उत्पादनमूलक, १ वटा पूर्वाधारमूलक र १ वटा कृषिमूलक उद्योग स्थापना तथा सञ्चालनको लागि आएको हो ।

आर्थिक वर्ष २०७९÷८० मा कृषिमूलकमा १ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ, निर्माणमूलकमा १३ करोड ३१ लाख रुपैयाँ, उर्जामूलकमा १ खर्ब १२ अर्ब ६८ करोड रुपैयाँ, सूचनामूलकमा १ अर्ब ७ करोड २४ लाख रुपैयाँ, खनिजमूलकमा ७६ करोड ४७ लाख रुपैयाँ, उत्पादनमूलकमा ४१ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ, सेवामूलकमा ३० अर्ब ८२ करोड ३३ लाख रुपैयाँ र पर्यटनजन्यमा २५ अर्ब २७ करोड ४५ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । उक्त लगानी प्रतिवद्धता १० वटा कृषिमूलक, १ वटा निर्माणूलक, ४५ वटा उर्जामूलक, १६ वटा सूचना प्रविधिमूलक, ४ वटा खनिजमूलक, १ सय १४ वटा उत्पादनमूलक, ६६ वटा सेवामूलक र ६७ वटा पर्यटनमूलक उद्योगका लागि लगानी आएको हो ।

विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंह धामीले लगानी सम्मेलनहरुको प्रभावका कारण पनि लगानी प्रतिवद्धता बढेको बताए । विदेशी लगानीकर्ताले विभागमार्फत् भने न्यूनतम दुई करोड रुपैयाँ देखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्राउन सक्नेछन् ।

६ अर्ब रुपैयाँ भन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत् स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक लगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंक अन्र्तगत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँ देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार