आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा साउन २७ गतेदेखि आवेदन खुल्ने

काठमाडौं ।आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले अनुमति माग्दा २०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको थियो । तर विद्युत नियमन आयोगले घटाएर चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। कम्पनीले हकप्रद वापत संकलन गर्ने उक्त पुँजी गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीपछि कम्पनीको पुँजी २ अर्ब पुग्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार