टिफाको बैठक सेप्टेम्बर १६ र १७ मा नेपालमा बस्ने : अमेरिकी राजदूत

काठमाडौँ । नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

उद्योग मन्त्रालयमा थम्सनसँग भएको भेटमा मन्त्री भण्डारीले अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए । उनले भने, “नेपालको आर्थिक, सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्दछु, संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”

पर्यटकको दृष्टिकोणले अमेरिका महत्वपूर्ण मुलुक भएको उल्लेख गर्दै मन्त्री भण्डारीले अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको बताए । युएसआइडीको सहयोग एवं नेपालको निजी क्षेत्र, वित्तीय क्षेत्र र सरोकारवाला मन्त्रालयसँगको सहकार्यमा व्यापार तथा प्रतिस्पर्धी कार्यक्रम हाल कार्यान्वयनमा रहेको जनाउँदै उनले यस कार्यक्रममार्फत नेपालको लघु, साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता विकास एवं अमेरिकी तथा युरोपेली बजारमा नेपाली वस्तु निर्यात गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनका लागि राजदूत थम्सनमार्फत अमेरिकी सरकारसँग आग्रह गरे । अमेरिकाबाट नेपालमा सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायतका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भएको उल्लेख गर्दै उनले भने, “नेपालमा गत अप्रिलमा ५० भन्दा बढी मुलुकका लगानीकर्ताको उत्साहप्रद सहभागितासहित लगानी सम्मेलन सम्पन्न भएको छ, सो सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले विभिन्न सात वटा कानूनमा संशोधन गरी लगानी वातावरणलाई थप सहज बनाउने प्रयास गरेको छ ।”

मन्त्री भण्डारीले जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी वृद्धिमा उनले अमेरिका सरकारसँग अपेक्षा गरे । सो क्रममा राजदुत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरणलगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताए । विगतमा रोक्का हुने भनिएको युएसएआइडीको कार्यक्रम निरन्तर हुने जनाउँदै उनले नेपाल र अमेरिकाबीच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा)को बैठक आगामी सेप्टेम्बर १६ र १७ मा नेपालमै बस्ने बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार