SKIP THIS

NCELL

सरकारी सर्भरमा पुन साइबर आक्रमण, करिब २ घण्टा सेवा अवरुद्ध

काठमाडौं । सरकारी सर्भरमा गत बिहीबार पुन साइबर आक्रमण भएको छ। साइबर आक्रमणबाट उक्त दिन करिब २ घण्टा सरकारी वेबसाइटहरु अवरुद्ध हुन पुगेका थिए। उक्त साइबर आक्रमणबाट केही सरकारी वेबसाइट केही समयका लागि पूर्ण डाउन भएको स्रोतले जानकारी दिएको छ। उक्त दिन इक्विटीनेपालले अर्थमन्त्रालय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लगायतको वेबसाइट नखुल्ने समस्या पहिचान गरेर समाचार प्रकाशित गरेको थियो।

सोही दिन एकिकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)का प्रतिनिधिहरुसँग सम्पर्क हुन सकेको थिएन।

एकिकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)का निर्देशक क्षितिज भट्टराईले बिहीबार सरकारी वेबसाइटमा समस्या आएको स्वीकार गरेका छन्। क्लाउडमा समस्या आउँदा केही सरकारी वेबसाइटहरु डाउन भएको उनी बताउँछन्। उक्त समस्या तत्कालै हल गरेर सेवा यथास्थितिमा सञ्चालनमा ल्याइएको उनको भनाइ छ। तर के कारण र कसरी आक्रमण भएको सम्बन्धमा उनले थप बताएनन्।

सरकारी वेबसाइट डाउन

सीप्यानलकाे लाईसेन्स सकिएकाले जाेखिम उत्पन्न भएकाे  छ। यस्तो हुनुको पछाडि आईडीएमसीले प्रयोग गर्दै आइरहेको सीप्यानलको लाइसेन्सिङ अवधि गुज्रिसकेको छ। म्याद सकिएको सीप्यानल प्रयोग गर्दा साइबर आक्रमणको जोखिम भयाभव अवस्था पुगेको छ। पुन साइबर आक्रमण नहोला भन्न सकिने अवस्था नरहेको स्रोत बताउँछन्।

विगतको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) हालको आईडीएमसीमा साइबर आक्रमण हुनु कुनै नौलो विषय हैन। सरकारी डाटा भण्डारण, व्यवस्थापन, प्रशोधन तथा सुरक्षण, साझा कम्प्युटिङ स्रोतहरू, परामर्श सेवा, सरकारी डोमेन दर्ता, इमेल सर्भर, सरकारी नेटवर्क व्यवस्थापनको काम गर्ने निकायमा बारम्बार साइबर आक्रमणको प्रयास हुने गरेको छ। त्यस्ता प्रयासहरु सफल पनि भइरहेका छन्। साइबर आक्रमणबाट विदेशगरी सरकारी विद्युतीय सेवा प्रभावित हुने गरेको छ।

नेपालमा पछिल्लो केही वर्षदेखि साइबर आक्रमणको घटना बढ्दो क्रममा छ। २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सरकारी वेबसाइट एकाएक बन्द भएको थियो। केन्द्रीय डाटा सेन्टरमा डिडस साइबर आक्रमण हुँदा अत्यधिक ट्राफिक देखिइ कुनै पनि आइएसपीका साइटहरुबाट सरकारी वेबसाइट खुल्न सकेन। त्यसको २३ दिनपछि अर्थात् २०७९ फागुन ८ गतेका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको वेबसाइट डाउन भयो। यसले गर्दा कैयौँ अन्तर्राष्ट्रिय उडान रोकिए भने यात्रुहरु अलपत्र पर्न गए। यी घटनाहरुलाई एनआईटीसीले सुरुमा प्राविधि समस्या भनेको थियो। तर पछि सरकारी डाटा नै गायब भएको सूचना प्राप्त भयो। तत्कालीन समयमा एनआईटीसी रहेको लोकसेवा आयोगको डाटा नै हराएको थियो। लोकसेवा आयोगका परीक्षाको तयारी गरिरहेका करिब ८५ हजारभन्दा बढी परीक्षार्थीको तथ्यांक नै गायब भयो। हराएको डाटा रिकभर हुन नसक्दा आवेदन दिएकाहरूले फेरि अनलाइन फारम भरेका थिए।

यस अघि २०७४ असार १३ गते टर्कीका ह्याकर समूहले राहदानी विभागको आधिकारी वेबसाइट ह्याक गरेका थिए। उनीहरुले प्राप्त गरेको सरकारी डाटा सार्वजनिक गर्ने धम्की दिएका थिए।

नेपालको साइबर स्पेसमा हालसम्मको सबैभन्दा ठूलो ह्याकिङ काण्डको रुपमा सोही वर्षको कार्तिक ६ गते एनआईसी एशिया बैंकको स्विफ्ट सिस्टमलाई लिने गरिन्छ। अज्ञात ह्याकरले बैंकबाट करिब ४४ लाख अमेरिकी डलर बराबरको रकम विभिन्न ६ मुलुकमा पठाएइएको थियो। करिब ४० लाख अमेरिकी डलर फिर्ता लिएको बैंकको दाबी छ।

त्यस्तै २०८० पुस १५ र १६ गतेका दिन पुन: नेपाल सरकारको वेबसाइटहरु अवरुद्ध भयो। विदेशी ह्याकरहरुले सरकारी वेबसाइटको डीएनएस सर्भरमा डीडीओस ( (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस)मा अट्याक गर्दा यस्तो समस्या आएको एनआईटीसीले जानकारी दिएको थियो। उक्त समस्यासँग जुझ्न एनआईटीसीले देश बाहिर सरकारी वेबसाइट नखुल्ने बनाएको थियो। यस्ता घटना त निरन्तर रुपमा चलिरहेका छन्।

के हो सीप्यानल

सीप्यानल वेब होस्टिङ नियन्त्रण प्यानल हो। जसले वेबसायट होस्ट गर्ने प्रक्रियालाई सरल बनाउन डिजाइन गरिएको ग्राफिकल इन्टरफेस र अटोमेशन टूल प्रदान गर्छ। यसले प्रयोगकर्ताहरुलाई वेब होस्टिङ वातावरण व्यवस्थापन गर्न अनुमति दिन्छ। जस्तै डोमेन, फाइल, डाटाबसे, इमेल अकाउन्ट लगायत रहन्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार