SKIP THIS

NCELL

प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा नेपालसँग भारतले थप २ सय ५१ मेगावाट बिजुली किन्ने

काठमाडौं । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत विक्री सम्झौतामार्फत विद्युत निर्यात स्वीकृित दिएको बताए । उनले विगतमा भारतले ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट निर्यात गर्दै आएकोमा सोमवारबाट थप २५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत खरिद गर्ने भएको बताए ।

घिसिङले भारतमा विद्युत निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने बताए । उनले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत बिक्री गरेको भन्दै चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने अनुमान प्राधिकरणको रहेको बताए । उनले नेपाल खुद विद्युत निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयात भन्दा निर्यात बढी गरेको बताए । उनले विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्ने जानकारी दिए । उनले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको बताए ।

उनले २ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत हरियाणा निर्यात गरिने बताए । उनले बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता भएको जानकारी दिए । दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपये ४५ पैसा (नेपाली ८ रुपैयाँ ७२ पैसा) रहेको बताए । उनले भारतसँग अझै २५० मेगावाटका आयोजनाहरु अहिले पनि सम्झौता गर्ने प्रक्रियामा रहेको बताए । उनले यो वर्षमा भारतमा १ हजार मेगावाट विद्युत पठाउने योजनामा प्राधिकरण रहेको बताए । २५१ मेगावाट विद्युत निर्यातको स्वीकृति १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सम्झौताअनुरुप भएको बताए ।

भारतले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । पछिल्लो तीन वर्षमा भारतले नेपालबाट विद्युत निर्यातको परिणाम निरन्तर रुपमा वृद्धि गरिरहेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत विक्री गर्ने रहेको छ । सम्झौताको पहिलो वर्षमा १ हजार मेगावाट विद्युत निर्यातको स्वीकृति पाइसकेको छ । नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने आधार तय भइरहेको छ । त्रिदेशिय सम्झौता अनुरुप बंगलादेशलाई ४० मेगावाट विद्युत विक्री गर्ने सम्झौता अन्तिम चरणमा पगेको छ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम सहज भएसँगै सम्झौता गर्ने तयारीमा प्राधिकरण छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार