गत आवमा ६ हजार ट्रेडमार्क दर्ता

काठमाडौं । गत आर्थिक वर्षमा औद्योगिक ट्रेडमार्क दर्ता दोब्बरले बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा छ हजार ५१ वटा ट्रेडमार्क दर्ता भएका छन् । आव २०७९/८० मा तीन हजार २५४ वटा ट्रेडमार्क दर्ता भएका थिए ।

अघिल्लो आवको तुलनामा दोब्बरभन्दा बढी ट्रेडमार्क दर्ता भएका हुन् । पुराना फाइल क्लियर भएको र ट्रेडमार्कको महत्व बढ्दै गएकाले पनि धेरै सङ्ख्यामा यो वर्ष ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।

कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनका लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार वा शब्दलाई ट्रेडमार्क भनिन्छ । ट्रेडमार्क भनेको व्यवसायले प्रदान गर्ने सेवा वा वस्तुलाई चिनाउने चिह्न, नाम वा ट्यागलाइन हो ।विभागका अनुसार गत आवमा ११३ वटा ट्रेडमार्कसम्बन्धी मुद्दा दर्ता भएका छन् । गत आवमा दुई वटा प्याटेन्ट र ११ वटा डिजाइन दर्ता भएका छन् ।

व्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महत्व र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको क्रम बढेको, धेरै उद्योगका एउटै ट्रेडमार्क परेको आधारमा उजुरी आएपछि विभागले कारबाही गर्ने गर्छ ।

पेटेन्ड डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ अनुसार ट्रेडमार्क दर्ता भई सञ्चालन हुने गर्छ । प्याटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गर्नु पर्छ ।

नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ । ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा एक लाखसम्मको जरिबाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसँग सम्बन्धित सबै कुरा सरकारले जफत गर्ने कानुनी प्रावधान छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार