अघि बढ्यो तल्लो बलेफी जलबिधुत आयोजना निर्माण रिडी पावरको सहायक कम्पनीले बनाउने

काठमाडौं । रिडी पावर कम्पनीले सहायक कम्पनी मार्फत २२.५ मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाको निर्माण थालेको छ । रिडी पावरको शतप्रतिशत स्वामित्वमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा अवस्थित बलेफी नदीमा २२.५ मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाको निर्माण थालेको हो ।

यो आयोजना २०८१ साउनबाट यस आयोजना निर्माण सुरु भएको र आगामी दुई वर्ष भित्र आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने कम्पनीले बताएको छ । कम्पनीले  आयोजनाको विजुली खरिद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग २०७५ माघमा सम्झौता गरिसकेको छ  ।

आयोजनाको कुल लागत ४ अर्ब ४० करोड रहेको, कुल लागत मध्ये ६७.२३ प्रतिशतले हुने २ अर्ब ९६ करोड बैकको कर्जा लगानी,१ अर्ब ४४ करोड कम्पनीको स्वपूँजी लगानीमा निर्माण सम्पन्न हुनेछ । कूल स्वपूँजी लगानी मध्येवाट रिडी पावर लिमिटेडले ५५ प्रतिशत अर्थात् ७८ करोड लगानी गर्ने छ भने अन्य रणनितिक साझेदार कम्पनीबाट २५ प्रतिशत अर्थात् ३७ करोड लगानी गर्ने छन् । बाँकी रकम साझा पावर कम्पनीले सर्वसाधारणका लागी शेयर निष्काशन गरी लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

आयोजनामा निर्माणको लागि रिडी पावरले १:०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेर ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ संकलन गरिसकेको छ । रिडी पावरले यस आयोजनामा लगानी गर्नको लागि यस अघि नै हकप्रद निष्काशन गरेर रकम जुटाईसकेकोले अब लगानीकर्ताले थप रकम हाल्नु नपर्ने रिडी पावरका अध्यक्ष कुवेरमणि नेपालले बताए । उनका अनुसार रिडी पावरका शेयर लगानीकर्ताले थप रकम लगानी नगरी २२.५ मेगावाटको सो बलेफी आयोजनाले दिने लाभ पाउन सक्ने छन् ।

अध्यक्ष नेपालका अनुसार तल्लो बलेफि जलविद्युत आयोजनाबाट बार्षिक १०५ गिगावाट घण्टा विद्युत शक्ति उत्पादन हुनेछ । सो विद्युत बिक्रीबाट कम्पनीलाई पहिलो वर्षमा ६२.३० करोड आम्दानी हुनेछ । आयोजनाको विद्युत विक्री दर वर्षायामका लागि रु. ४.८० र सुख्यायामका लागि रु. ८.४० तय भएको छ । यो मूल्य दर ६÷६ महिनाको हुने गरी मङ्सिर १६ देखि जेष्ठ १५ सम्मलाई सुख्यायाम र जेष्ठ १६ देखि मङ्सिर १५ सम्मलाई वर्षायाम कायम भएको छ । यो आयोजनाले ३ प्रतिशतका दरले ८ वर्ष सम्मका लागि मूल्य बृद्धि दर प्राप्त गर्नेछ । बैंकबाट लिएको परियोजना ऋण कर्जा १२ वर्ष भित्र चुक्ता भुक्तानी गर्ने योजना रहेको उनको भनाई छ ।

आयोजनाको ऋण फिर्ता अवधि ७.८० वर्षको रहेको छ । आयोजनाको इन्टरनल रेट अफ रिटर्न (आईआरआर) ११.८८ प्रतिशत रहेको छ । यस आयोजनाको व्यवसायिक उत्पादन शुरु गरेको पहिलो वर्ष देखि नै शेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्ने ठानिएको अध्यक्ष नेपाल बताउछन् ।

उनी भन्छन् ‘यो आयोजना अबको दुई वर्ष भित्र निर्माण सम्पन्न भई शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्ने देखिन्छ । यी सबै आयोजनाहरुलाई एकत्र गरेर हेर्दा रिडी पावर कम्पनी लिमिटेडको मातहतमा जम्मा ३५.३ मेगावाटका जलविद्युत र ८.५ मेगावाटको सोलार आयोजना समेत गर्दा जम्मा ४३.८ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको कम्पनी बनेको छ ।’

 

 

 

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार