पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन् । कार्कीले अर्जुन पोखरेललाई ४ सय ८८ मन्तान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्कीले १ हजार  ३ सय ३९ मत प्राप्त गर्दा पोखरेलले ८  सय ५१ मत प्राप्त गरे । पोखरेल ३४औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए । उनीहरू प्यानलसहित निर्वाचनमा होमिएका थिए । अध्यक्ष, उपमहासचिव र केही सदस्यबाहेक पदाधिकारी र अधिकांश सदस्य पदमा भने पोखरेल समूहबाटै विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) मा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनीहरू सबै पोखरेल समूहका हुन् ।

यस्तै, उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी भएका छन् । उनले बालकृष्ण कोइरालालाई पराजित गरे । प्रधानाङ्गले १ हजार १ सय ७७ मत र कोइरालाले १ हजार ४७ मत प्राप्त गरे । कोइराला अर्जुन पोखरेलको समूहबाट चुनावी मैदानमा होमिएका थिए भने प्रधानाङ्गले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । यसैगरी खुला सदस्यमा ललितबहादुर कुँवर १ हजार ५ सय ३९, देवेन्द्र प्रजु १ हजार ५ सय १६, सौगात थापा १ हजार ४ सय ९४, दूधमान गुरुङ (आशीष) १ हजार ४ सय ६८ र भीम गौतम १ हजार ४ ३९ मत ल्याएर विजयी भए ।

यस्तै, टिकाराम सुवेदी (माधव) १ हजार ३ सय ९४, जीवनप्रकाश श्रेष्ठ १ हजार ३ सय ८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १ हजार ३ सय ७५, प्रदीप राजभण्डारी १ हजार ३ सय ७० र यादवप्रसाद पोखरेल १ हजार ३ मत ल्याएर विजयी भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा वस्तुगततर्फबाट सूर्य घिमिरे (मदिरा) २२, दुर्गा बराल (कस्मेटिक) २१, पृथ्वीराज तिमिल्सिना २० र नवीन नापित (कपडा) १४ मतका साथ विजयी भएका छन् । नापित र दीपेन्द्र कोइरालाको समान १४/१४ मत आएपछि गोलाप्रथा गरिएकामा नापित विजयी भए । संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । संघमा २ हजार ९ सय ७ जना सदस्य मतदाता रहेकामा २ हजार २ सय ५१ सदस्यले मतदान गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार