डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद: फेरी उद्योगीको लाइन काट्दै प्राधिकरण

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको महशुल नबुझाउने उद्योगीको लाइन फेरि काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरे बापतको महशुल नबुझाउने उद्योगीको लाइन काट्ने भएको हो ।

प्राधिकरणले गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै बिगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई कार्तिक ८ गतेसम्म महशुल तिर्न समय दिएको थियो ।

तोकिएको समय भित्रमा बक्यौता महशुल नबुझाउने उद्योगीको लाइन काट्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

‘विद्युत उपयोग गरेपछि महशुल तिर्नु पर्छ । विद्युत महशुल नतिर्ने सबै उपभोक्तालाई समान व्यवहार गरिन्छ । महशुल नतिर्नेको लाइन काटिन्छ,’ प्रवक्ता घोषले भने, ‘प्राधिकरण ऐन, विनियामवली, महशुल विनियामवलीले पनि त्यही बन्छ ।’

२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरे बापतको महशुल नबुझाएको भन्दै प्राधिकरणले विभिन्न समयमा उद्योगहरुको लाइन काट्दै आइरहेको छ । गत असारको अन्तिम साता पनि प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महशुल नतिरको भन्दै केही उद्योगको लाइन काटेको थियो ।

उद्योगको लाइन काटिए पछि गत साउन ४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई छलफलका लागि बोलाए । उक्त छलफलमा प्रधानमन्त्री ओलीले काटिएका उद्योगमा तत्काल लाइन जोड्न मौखिक निर्देशन दिएका थिए । तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने भन्दै लिखित पत्र माग्दै लाइन जोड्न मानेनन् ।

विद्युत् नियमन आयोगले प्राधिकरणलाई काटिएको बिजुली जोड्न पत्र काट्यो । आयोगले विद्युत् उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका, ०८० को दफा १३ को उपदफा १ र १० का आधारमा बिजुली जोड्न प्राधिकरणलाई पत्र काट्एको थियो । आयोगको लिखित निर्देशनका आधारमा प्राधिकरण सञ्चालक समितिले गत साउन ८ मा तीन महिनाभित्र बक्यौता नतिरे पुन: कारबाही अगाडि बढाउने भन्दै तत्कालका लागि बिजुली जोड्ने निर्णय गरेको थियो । अब कार्तिक ८ गते भित्रमा ४९ उद्योगले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरे बापतको महशुल नबुझाए पुन बिजुली काट्न प्राधिकरण अग्रसर देखिएको छ ।

४९ उद्योगको विद्युत महशुल बाँकी

प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गर्ने ४९ उद्योगले विद्युत महशुल तिर्न बाँकी छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार