अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्न हस्तकला व्यापार मेला

काठमाडौं । नेपाली हस्तकलाका सामानको राष्ट्रिय र अन्तरराष्ट्रिय बजार प्रवर्द्धनका लागि मङ्सिर तेस्रो साता हस्तकला व्यापार मेला तथा प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल हस्तकला महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा मङ्सिर २० देखि २४ गतेसम्म होटेल हायात बौद्धमा मेला गर्न लागेको सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मेलामार्फत निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्ने, आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन र रङ संयोजनबारे जानकारी आदानप्रदान गर्ने, स्वदेशी र विदेशी क्रेता–विक्रेताबीच एकआपसमा शीप, प्रविधि, डिजाइन र ज्ञान आदानप्रदान गर्ने उद्देश्य रहेको संघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।

करीब १५० ओटा स्टल रहने मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत हस्तकलाका सामग्री प्रदर्शनी तथा विक्रीमा राखिने बताइएको छ । मेलामा महासंघका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला संघ र वस्तुगत संघका साथै विदेशी प्रदर्शनीकर्ताको रूपमा भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीको सहभागिता रहनेछ । मेलामा नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रममा समावेश भएका हस्तकला वस्तुलाई विशेष रूपमा प्रदर्शनी गर्ने तथा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई नि:शुल्क स्टल उपलब्ध गराइने महासंघले जानकारी दिएको छ । नेपाली हस्तकला व्यवसायीका लागि मेला व्यापार प्रवर्द्धन गर्ने अवसर हुने मेला आयोजक समितिका संयोजक तथा महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधरले जानकारी दिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार