CLI
Global College

क्रसिङ्ग सिजिनमै चिनीको तस्करी बढ्दा स्वदेशी उद्योगी धरासायी हुने खतरा बढ्यो

काठमाडौं । उखु क्रसिङ्ग सिजनमै बजारमा तस्करीमार्फत ठूलो परिमाणमा चिनी भित्रिएपछि स्वदेशी चिनी उद्योग गम्भीर समस्यामा परेको उद्योगीले बताएका छन् । नेपाल चिनी उद्योग संघले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तस्करीको चिनीका कारण स्वदेशी उद्योगको उत्पादनले बजार नपाउँदा र किसानलाई भुक्तानी दिन पनि कठिनाइ हुने बताएका छन् ।

संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार, अहिले गोदाममा १० हजार मेट्रिक टन चिनी थन्किएको छ। चाडपर्वको समयसहित वार्षिक २ लाख ८५ हजार मेट्रिक टन चिनीको माग हुने नेपालमा, गत वर्ष स्वदेशी उद्योगले १ लाख ७८ हजार ७१७ मेट्रिक टन चिनी उत्पादन गरेका थिए। तर, बाँकी माग पूरा गर्न औपचारिक रूपमा आयात भएको १५ हजार मेट्रिक टन चिनी र साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा बिक्री भएको २० हजार मेट्रिक टन चिनीसमेत जोड्दा ७० हजार मेट्रिक टन चिनी तस्करीबाट बजारमा भित्रिएको अनुमान संघले गरेको छ।

अग्रवालले तस्करी भएर आएको ५० देखि ६० हजार मेट्रिक टन चिनीले स्वदेशी उद्योगले उत्पादन गरेको चिनी बिक्री हुन नसकेको बताए। यसले चालु आर्थिक वर्षमा सुरु भएको उखु क्रसिङ सिजनमा किसानलाई भुक्तानी दिन गम्भीर समस्या हुने उनले जनाए। उनका अनुसार, भारतबाट सस्तो मूल्यको चिनी सीमा नाकाबाट भित्रिएर नेपाली बजारमा छ्यापछ्याप्ती उपलब्ध भएको छ।

‘भारतमा सरकारले उखु उत्पादनदेखि चिनी उद्योगसम्म विभिन्न अनुदान र सुविधा प्रदान गरेको छ,’ अग्रवालले भने, ‘त्यहाँ चिनीको उत्पादन लागत नेपालको तुलनामा निकै सस्तो छ। यता, नेपालको चिनी महँगो हुँदा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन।’

संघले वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, बिराटनगरजस्ता सीमा क्षेत्रबाट ठूलो परिमाणमा चिनी तस्करी भइरहेको दाबी गरेको छ। तर, स्वदेशी उद्योगीले आफैं तस्करीमा संलग्न नभएको स्पष्ट पारे। ‘उद्योगी आफैंले तस्करी गरेर आफ्नै उद्योगलाई हानी पुर्‍याउँदैन,’ अग्रवालले भने। तस्करीमा उद्योगीको संलग्नता प्रमाणित गर्न सक्नेहरूले प्रमाणसहित अघि आउन चुनौती दिँदै, उनीहरूले प्रमाणित भए उद्योग झुण्डिन तयार रहेको बताए।

चिनी उद्योग संघले सरकारसँग तस्करी नियन्त्रणका लागि प्रभावकारी नीतिगत हस्तक्षेप गर्न र स्वदेशी उद्योगलाई संरक्षण गर्न आग्रह गरेको छ। ‘हामी किसानको भुक्तानी सुनिश्चित गर्न चाहन्छौं, अग्रवालले भने, ‘तर, तस्करीको चिनीले बजार कब्जा गरेकाले हामीलाई ठूलो समस्या परेको छ। सरकार तत्काल हस्तक्षेप गरून्।”

यो समस्या समाधान नभए, स्वदेशी चिनी उद्योग र किसान दुवैको अस्तित्व संकटमा पर्ने संघले चेतावनी दिएको छ।

आगामी उत्पादन लक्ष्य

गत वर्ष २ करोड ३८ हजार ७५५ क्विन्टल उखु पेलेर १ लाख ७८ हजार ७१७ मेट्रिक टन चिनी उत्पादन भएको संघको तथ्यांक छ। चालु आर्थिक वर्षमा २ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य राखिएको छ। तर, तस्करी रोक्न सरकारको प्रभावकारी कदमबिनाको अवस्थामा यो लक्ष्य हासिल गर्न गाह्रो हुने संघले जनाएको छ।

Leave Your Comment

Related News