पाँच महिनामा एफडीआई: ३१९ उद्योगका लागि २० अर्ब बढीको लगानी प्रतिवद्धता

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा नेपालले २० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता पाएको छ।

विदेशी लगानीकर्ताहरुले साउनदेखि मंसिरसम्म ३१९ वटा उद्योगका लागि २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँबराबरको लगानी विदेशी लगानी प्रतिबद्धता (एफडीआई)  भित्र्याउने प्रतिबद्धता जनाएका हुन्।

मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

५ महिनामा स्वचालित प्रणालीबाट उनीहरुले २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँ बराबरको लगानी ल्याउने इच्छा गरेका छन्। मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ।

यता विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५ महिनामा १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार ४ सय रुपैयाँबराबरको प्रतिबद्धता प्राप्त भएको छ। यो प्रणालीबाट मंसिरमा मात्रै १ अर्ब ६० करोड ९५ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ।

प्रतिबद्धताबमोजिम लगानी भित्रिएमा देशमा ९ हजार २०६ जनाले रोजगारी पाउनेछन्। मंसिर १ महिनाको प्रतिबद्धताअनुसार मात्रै १ हजार ३ सय ६३ जनाले रोजगारी पाउनेछन्।

मंसिर मसान्तसम्म स्वचालित प्रणालीबाट १० अर्ब २४ करोड ६३ लाख ३७ हजार रुपैयाँ बराबरको र स्वीकृति प्रणालीबाट ५ खर्ब ३० अर्ब २९ करोड ३५ लाख २३ हजार ७०५ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ। यो भनेको हालसम्म कुल ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रुपैयाँको लगानी प्रतिबद्धता हो।

प्रतिबद्धताअनुसार लगानी भित्रिएको अवस्थामा ३ लाख ३७ हजार ५१४ रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको विभागको भनाइ छ।

विभागको तथ्यांकअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन्। ५ महिनामा १ हजार ७८२ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन्। अघिल्लो आवको सोही अवधिमा १ हजार २०० जनाले यस्तो माग गरेका थिए। त्यसैगरी उनीहरुका प्रतिनिधि पनि यो अवधिमा बढेका छन्।

५ महिनामा १७८ जनाले बिजनेस भिसा मागेका छन्। अघिल्लो वर्ष यही अवधिमा १४१ जनाले मागेका थिए। उनीहरुका डिपेन्डेन्टमध्ये ५ महिनामा ३९५ जनाले यस्तो भिसा मागेका छन्। जुन गत आवमा ३ सय ६० जनाले मागेका थिए।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार