काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत वैकल्पिक व्यवस्थामाार्फत आपूर्ति दिने भएको छ।
विद्युत अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ।
उक्त क्षेत्रका बासिन्दाको विद्युत आपूर्तिमा भने कुनै समस्या नरहेको उल्लेख छ।
फास्ट ट्र्यााकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरूङ, लगायत संरचना निर्माणका लागि आवश्यक विद्युत अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ।
फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत आवश्यक पर्नेछ। त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ।
विद्युत आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालू रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ।
काठमाडौंमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्रयाकका लागि आवश्यक विद्युत आपूर्ति दिइनेछ।
ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका लागि हाल ५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालू रहेकाले थप विद्युत प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमती खोला साना जलविद्युतको विद्युत गृहलगायतका संरचनामा ठूलो क्षति पुर्याइ विद्युत उत्पादन बन्द हुँदा त्यसपछि फास्ट ट्रयाकअन्तर्गत उक्त खण्डमा विद्युत आपूर्ति हुन सकिरहेको छैन।
बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत प्रवाह गर्ने स्वीचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मर लगायत उपकरण समेत बगाइदिएको थियो।
आयोजनाबाट उत्पादित विद्युत ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो। माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्रयाकलाई आपूर्ति दिइएको थियो।
माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत आयोजना पनि जोडिएको थियो।
तर, बाढीपहिरोले खानीखोलामा पनि क्षति पुगेपछि माल्टा सबस्टेसन विद्युत स्रोतबिहिन बनेको थियो। जसका कारण फास्ट ट्रयाकको विद्युत् आपूर्ति बन्द भएको थियो।
अहिले दुवै आयोजनाको पुनर्निर्माण चलिरहेको छ।
विद्युत आपूर्ति नहुँदा फास्ट ट्रयाक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।
टोलीले पुनर्निर्माण भइरहेको बागमती खोला साना जलविद्युत आयोजना र ढोर्सिङ्ग सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत आपूर्ति गर्न सकिने विभिन्न विकल्पमा सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो।
आयोजनाको पुनर्निर्माण आगामी चैत्रभित्र सक्ने गरी काम भइरहेको प्राधिकरणको भनाइ छ। उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत आपूर्ति दिइनेछ।
प्रवन्ध निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्रयाकलाई विद्युत आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए।