नेपालभर १ लाख ४२ हजार होटल तथा रेष्टुरेन्ट, ३ खर्ब २६ अर्ब आम्दानी

काठमाडौं । नेपालभर करिब डेढ लाख होटल तथा रेष्टुरेन्ट रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणले १ लाख ४२ हजारभन्दा बढी राष्ट्रिय होटल तथा रेष्टुरेन्ट अर्थात् आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठान रहेको बताएको हो।

सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानहरूको संख्या भने कुल १ लाख ४२ हजार २२३ रहेका छ ।

यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५२ हजार बढी प्रतिष्ठान पाइएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ११० यस्ता प्रतिष्ठान छन्। सर्वेक्षणको नतिजा अनुसार प्रतिष्ठानहरूमा संलग्न व्यक्तिहरूको संख्या ३ लाख ८७ हजार ७४७ रहेका छन्। प्रतिष्ठानहरूमा संलग्न व्यक्तिहरूको संख्या भन्नाले प्रतिष्ठानमा सक्रियरूपले कार्यरत व्यवसायी तथा साझेदारहरू, बेतलबी पारिवारिक सदस्यहरू र तलबी रोजगार व्यक्तिहरूलाई बताइएको छ।

प्रतिष्ठानहरूमा रोजगार व्यक्तिहरूको संख्या भन्नाले प्रतिष्ठानबाट नियमित रुपले तलबरज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदार व्यक्तिहरूलाई बुझ्नु पर्दछ। सर्वेक्षण अनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा रोजगार व्यक्तिहरूको संख्या १ लाख ६ हजार ४५९ रहेका छन्।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारहरूको लागि तलब ज्याला र सुविधामा गरेको जम्मा खर्च करिब २० अर्ब ६१ करोड ५० लाख रहेको छ। यो एक वर्षको तलब खर्च हो।

सन्दर्भ अवधिमा तलबी कामदारहरूको लागि आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले खर्च गरेको कुल रकम, नगद, जिन्सी र अन्य सुविधाहरू समेत भन्ने बुझाइएको छ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको रकम लागतको रूपमा खर्च गरेको पाइएको छ।

करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन अर्थात् आम्दानी रहेको छ । यस हिसाबले सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेका छन्।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको छ।

त्यस्तै प्रतिष्ठानहरूमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशतले प्रतिष्ठानहरूको ऋण नभएकोरनलिएको देखिएको छ। निरन्तर प्रतिष्ठानहरु सञ्चालन हुदाँ रोजगारी, लगानी, व्यापारका साथै अर्थतन्त्रलई चलयामान बनाउन सहज भएको देखिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार