काठमाडौं । नेपाल एसबिआई बैंकको ३१औं वार्षिक साधारण सभाले सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको थियो । आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बसेको उक्त सभाले लभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
सभाले आव २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको नाफानोक्सान हिसाब, सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कंक्पनीका, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।