काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले (आईआईएन) छैठौं वार्षिक सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहाल गरेका थिए । सभाको उद्घाटन कार्यक्रममा उनले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाई लगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिएका थिए ।
इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका संरक्षक समेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाईमा पु¥याउनका लागि आफ्नो क्षेत्रबाट मिहेनतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए ।
अध्यक्ष दहालले भने, “बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ, समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीब्रता दिनुपर्छ ।”
त्यस अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संचालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरेका थिए ।
इस्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संचालक समितिका अध्यक्ष दीप प्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिए ।
साधारणसभामा आईआईएनका संचालक समितिका सदस्यहरू तथा शेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागि थिए।