काठमाडौं । नेको इन्सुरेन्स लि.को साधारण शेयरको हकप्रद निष्काशनको लागि माघ १८ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गर्नेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने निर्देशन बमोजिम कम्पनीले हकप्रद जारी गरेको हो । नेको इन्स्योरेन्सको अहिलेको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।
बुक क्लोजको अघिल्लो दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा भएको कारोबारबाट कायम भएको शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाइने कम्पनीले जनाएको छ ।