साढे ३ वर्षमा करिब पौने २९ अर्ब लाभांश वितरण

काठमाडौं । विदेशी लगानीकर्ताले पछिल्लो साढे तीन वर्षको अवधिमा करिब पौने २९ अर्ब रुपैयाँ लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब ४१ करोड ६० लाख लाभांश वितरण गरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ७१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब ६१ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो ।

विभागले आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड ४५ लाख लाभांश लगेको जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी उत्पादन क्षेत्रमा लगानी गरेका लगानीकर्ताले लाभांश लगेका छन् । त्यसपछि क्रमशः सूचना प्रविधि, उत्पादन, पर्यटन र सेवा क्षेत्रमा लाभांश वितरण गरेको छ । समीक्षा अवधिमा उत्पादन क्षेत्रमा आठ अर्ब ६९ करोड ६७ लाख, ऊर्जा क्षेत्रमा ११ करोड ७९ लाख, सूचना प्रविधि क्षेत्रमा १० करोड ९७ लाख, पर्यटन क्षेत्रमा आठ करोड ७२ लाख र सेवा क्षेत्रमा ६६ लाख लाभांश वितरण गरेको छ । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू छन् । त्यसपछि आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका लगानीकर्ताले धेरै लाभांश लगेको विभागले जनाएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार विदेशी लगानीकर्ताले लगानी प्रतिफलस्वरूप उक्त लाभांश रकम लगेका हुन् । उनका अनुसार लगानी प्रतिफलस्वरूप मासिकरूपमा करोडौँ लाभांश विदेशी लगानीकर्ताले लैजाने गरेका छन् । विदेशी लगानीकर्ताहरूले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लाभांश लगेका हुन् । उनीहरूले लगानी प्रस्ताव विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् ।

सरकारले विदेशी लगानी आएपछि रोयल्टी समेत प्राप्त गर्ने गरेको पाइन्छ । विभागलाई चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ६० करोड ८३ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ४३ करोड ३३ लाख कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ४ करोड १६ लाख रोयल्टी प्राप्त भएको थियो । चालू आर्थिक वर्षको पुसमा मात्र २२ करोड ६१ लाख रोयल्टी प्राप्त भएको छ ।

यसैबीच नेपालमा लगानी गरिसकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् ।

विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार