काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले आफ्नो माग सम्बोधन नभए देशभरका सम्पूर्ण ग्याँस बिक्रेता डिपोहरू बन्द गर्ने चेतावनी दिएको छ। बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा संघले फागुन २२ गतेदेखि देशभरका ग्याँस डिपोहरू बन्द गर्ने चेतावनी दिएको हो।
संघका अनुसार सरकार ग्याँस उद्योगीहरूको लगानी संरक्षण गर्नुको सट्टा उद्योगलाई निरुत्साहित गरिरहेको छ। आफ्ना मागहरू सम्बोधन गराउन उद्योगहरूले ग्याँस बिक्री ठप्प पार्ने निर्णय गरेका छन्।
ग्याँस उद्योग संघका प्रमुख मागहरू
नेपालमा सञ्चालित ५९ ग्याँस उद्योगहरूको छाता संगठनले निम्न प्रमुख मागहरू राखेको छ:
ग्याँस उद्योगहरूले किनेका ग्याँस बुलेटबाट ढुवानी गर्न दिने व्यवस्था गर्नु।
नेपालको आफ्नै विस्फोटक ऐन, कानुन तथा नियमन निकाय स्थापना गर्नु।
आन्दोलनको चरणबद्ध कार्यक्रम
संघले आन्दोलनलाई चरणबद्ध रूपमा अगाडि बढाउने जनाएको छ।
माघ ३० गते: नेपालका ५९ वटै एलपी ग्याँस उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीओडी) खरिद नगर्ने।
फागुन १ देखि ५ गते: स्थानीय संघ–संस्था, सञ्चारमाध्यम र सरकारका सम्बन्धित निकायहरूलाई आन्दोलनबारे जानकारी दिने।
फागुन ६ गते: भारतको इन्डियन आयलबाट नेपालका लागि लोड हुने एलपी ग्याँसका बुलेट लोड नगर्ने।
फागुन १२ गते: नेपालका लागि लोड भइसकेका ग्याँस बुलेट कुनै पनि भन्सार नाकाबाट नछुटाउने।
फागुन १८ गते: माग पूरा नभए अनिश्चितकालीन बन्दको घोषणा।
फागुन २२ गते: देशभरका ग्याँस बिक्रेता डिपोहरू बन्द।