ताप्लेजुङ जिल्लाको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्र निर्माणाधिन केवलकार निर्माणलाई लिएर आन्दोलित छ । केबलकार बनाउन दिने कि नदिने भन्नेबारे स्थानीय नै दुई पक्षमा बाँडिएका छन्। केवलकार निर्माण रोक्ने पक्षले ‘नो केवलकार’ अभियान चलाएको छ । केवलकार निर्माण भएमा धार्मिक र सांस्कृतिक पहिचान कमजोर बन्ने, परियोजना क्षेत्रका रुख कटानीले पारिस्थितिकीय असन्तुलन कायम हुने र केवलकारबाट स्थानीयले अहिले जतिपनि आर्थिक लाभ लिन नसक्ने उनीहरुको तर्क छ। अर्को पक्ष भने केबलकार बनेपछि मुक्कुम्लुङ पुग्न सबैलाई सहज हुने र पर्यटक आगमन वृद्धि भई स्थानीय रोजगार र आय बढ्ने र यसले यस क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुग्ने बताउदै आएको छ ।
पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माण धेरै अघिदेखिको एजेन्डा हो । यसमा फुङलिङ नगरपालिकाका मेयर अमीर मादेन अहिले पनि प्रतिवध्द छन। उनले यहि एजेन्डा बोकेर स्थानीय चुनाव जितेका थिए। उनी यो बिषय जनमतद्वारा अनुमोदन भईसकेकोले यसवारेमा विवाद सिर्जना गर्नु नहुने पक्षमा छन । यसलाई विकास र सांस्कृतिक अधिकारबीचको द्वन्द्व रुपमा व्याख्या गर्ने प्रयत्न पनि हुँदै आएको छ । तर आन्दोलनको स्वरुप हेर्दा त्यस्तो देखिदैन ।
निर्माण कार्य रोक्न नो केबलकार समूहले स्थानीय स्तरमा विरोध प्रदर्शन, मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द र लिम्बूवान (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायतको जिल्ला) बन्द जस्ता कार्यक्रम गरिसकेको छ । योसँगै आन्दोलनले सांस्कृतिक र पर्यावरणीय मुध्दामा भन्दा पनि राजनीतिक रुप लिदै छ । नेपाल उद्योग बाणिज्य महासङघका अध्यक्ष एंव ग्लोबल आइएमइ बैङ्कका अध्यक्ष चन्द प्रसाद ढकालको मुख्य लगानीमा नेपालको पुर्वी पहाड ताप्लेजुङ जिल्लाको पवित्र धार्मिक तथा सांस्कृतिक स्थल पाथिभरामा जाने माध्यमको रुपमा बनाउन लागेको केवलकारसँग जोडेर केही जातिवादी, स्वघोसित अभियान्ता, असन्तुष्ट राजनिति कार्यकर्ताहरुले ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको शाखामा तोडफोड तथा बैंक बहिष्कार भनेर जुन अभियान सञ्चालन भएको छ। यसले नेपालको सिङ्गो आर्थिक क्षेत्र नै असान्त बनाउदै लगेको छ ।
यस सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै देशको पुर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने बताएका छन् । नेपालमा बिगत केही बर्षदेखि उधोगी, ब्यबसायी, ब्यापारी, बैंकिङ संस्थामाथि निरन्तर प्रहार हुँदै आएको छ । यस प्रकारको आक्रमणका घटनाहरूले दीर्घकालिन रुपमा अर्थतन्त्रमा नकारात्मक असर पर्ने र विकासको गति सुस्त हुने निश्चित छ।
यो आक्रमण र हमलाको श्रृखला हेर्दा आन्दोलन केही खराव ऋणीको निहित स्वार्थ र स्वोघोसित अभियान्ताको आफ्नो प्रभाव विस्तार बन्न पुग्ने खतरा देखिन्छ। सुरुमा लघुबित्तले नागरिक ठगे भनेर सुरु भएको आन्दोलन जुनसुकै मुद्दामा घुसपैंठ गर्दै लघु बित्त बित्तीय सस्था हुँदै आज यो ठाउँमा आईपुगेको हो । अझ छाया सरकारमा रहेको प्रमुख प्रतिपक्षले सरकारको विरुध्द यो जनमतलाई प्रयोग गर्ने रणनीतले गर्दा स्थिति झन् भयावह बन्दै छ । आज लघुबित्तमा र बैङ्किङ क्षेत्रमाथि भईरहेको आक्रमण भोलि अन्य क्षेत्रमा पनि बिस्तार हुने निश्चित छ । देशमा व्यासायिक बातावरण बनाउन नदिने कडिको रुपमा बिकास भईरहेको यो प्रवृत्तिले निम्त्याउने दीर्घकालिन असरको आँकलन गरी नियमन र नियन्त्रण नगर्दा अबस्था थप जटिल बन्दै गएको छ ।
सबैभन्दा पारदर्शी र बलियो नियामकिय निकायको नियमनमा रहेको बैङ्किङ उधोग माथि श्रृङखलावद्द रुपमा भएको हमलाले त्यहि देखाँउछ । पहिलो चरणमा एनआइसि यसिया बैङ डुब्यो भनेर स्वोघोषित अभियान्ताले सुरु गरको आक्रमण अन्य बैङ्क हुँदै आज गल्लोबल आइएमइ बैङ्क मा आईपुगेको छ । नेपाल राष्ट्र बैङ्कबाट क बर्गको इजाजत पत्र प्राप्त गरि सञ्चालनमा रहेको बैङक माथि निहित राजनितिक, जातिय स्वार्थले आक्रमण हुनु निन्दनीय कुरा हो ।
तथ्याङ्कलाई हेर्ने हो भने, ग्लोबल आईएमई बैंकले अहिले ५ खर्ब रुपैयाँ निक्षेप संकलन गरी परिचालन गरिरहेको छ । बैंकसँग चल र अचल गरी साढे ६ खर्ब रुपैयाँको सम्पत्ति छ । बैंकमा ढकाल समेत सबै लगानीकर्ताको गरी कुल लगानी ३८ अर्ब रुपैयाँ रहेको छ । स्वभाबिक रुपमा राष्ट् बैङककबाट लाइसेन्स लिएर स्वतन्त्र रुपमा सञ्चालनमा रहेको बैङ्क संस्थापक शेयरधनिको मात्र हुँदैनन् । यसमा लाखौ साधारण शेयरधनी, बचत कर्ता, ऋणि, खातावालको पनि पैसा रहेको हुन्छ । यो तथ्यलाई आन्दोलनकारी वा बिद्रोहीले ठिकसँग बुझ्न् जरुरी छ ।
अहिले ग्लोबल आएइम बैङ्कमाथि भइरहेको हमलाले तत्कालका लागि सम्बन्धित बैंक वित्तीय संस्थालाई मात्रै असर पुर्याउला। तर यस्ता अराजक गतिबिधिले भोलिको दिनमा समग्र बैङ्किङ प्रणाली हुदै देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने निश्चित प्राय छ। यस किसिमका तत्व र गतिबिधिलाई नेपाल सरकार र बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नियन्त्रण ल्याई निश्तेज पार्न सम्बन्धित पक्षको ध्यान जान ढिला भइसकेको छ । त्यसो नगर्ने हो भने अन्तत्व गत्वा यसले समग्र बित्तीय अर्थतन्त्र हुँदै सरकारी संरचनामाथि यसै गरी आक्रमण हुने निश्चित छ ।
यसरी व्यबसायीले सेवा र मुनाफा सहित स्थानिय र सरोकारवाको पनि हितमा हुने परियोजनामा हुने चौतर्फि आक्रमणले बन्दै गरेको व्यासायिक वातावरण भत्कने र देशको आर्थिक विकासको मेरुदण्ड ब्यबसायी र उनीहरुको लगानी असुरक्षित बन्दछ। यसले दीर्घकालीन रूपमा लगानीको वातावरण नबन्नुका साथै बिदेशी लगानी कर्ता भित्र्याउने र आएको लगानी पनि फिर्ता जाने सम्भाबना उत्तिकै रहन्छ । लगानीको बाताबरण बिग्रने कुराले देशमा नै केही गर्ने सोंच भएका युवालाई थप द्वुविधा र निराशमा पार्ने छ ।
सरकारले नेपालमा लगानीको वातावरण बनाउन भन्दै केहि समय अघि अध्यादेशमार्फत केही कानूनी जटिलतालाई सहज गरेको छ । यसले नीजि क्षेत्रलाई उत्साहित बनाएको छ । व्यासायीहरु लगानी गरी आफ्नो व्यावसाय बिस्तार गर्न उत्साहित भएको यो समयमा यस प्रकारका घटना हुनु दुखद कुरा हो ।
आजको दिनमा ब्यावसायीको ध्येय विशुध्द नाफा केन्द्रीत नभई परियोजनाबाट स्थानिय नागरिक र सरोकारवालाले पाउने सेवा र लाभमा आधारित हुन्छन् । अन्तराष्ट्रिय तथा घरेलु कानुनले समुदायको हित सुरक्षित गरेको हुन्छ । नेपालमा बन्ने सबै परियोजना यहि मान्यतामा आधारित हुन्छन । यसअघि चन्द्र ढकालको नेतृत्वमा सञ्चालनमा आएका मौलाकाली केवलकार, बुटवल केबलकार, चन्द्रागिरि केवलकारले यसको पुष्टि गर्दछन् ।
निर्माणाधिन पाथिभरा केबलकारको कुरा गर्दा ‘नो केवलकार समुह’ले जुन बिषय र तथ्य को आधारमा केबलकार बन्नु हुदैँन भनेर प्रश्न उठाएका छन् ती बिषय लिम्बु पहिचान र संस्कृतिमा क्षेति, पर्यावरण र स्थानीयको जीविकामा असर पर्ने जस्ता जुन बिषय उठाइएका छन् यसलाइ हेर्दा निर्माण पक्ष पहिले नै सम्वोधन गर्न सचेत देखिन्छ। नेपालको बिशिष्टतामा पहिचानलाई सम्मान गर्दै उसले परियोजनाको नाम नै ‘मुक्कुम्लुङ (पाथीभरा) केवलकार’ राखेको छ । अर्को, केवलकार बनाउनु हुँदैन भन्ने पक्षले राखेको मुक्कुम्लुङ निश्चित ठाउ होइन पुरै डाडो हो भनिएको छ निर्माण पक्षले पनि पुरै डाँडोमा तारबार लगाएर निश्चित ठाऊमा मात्र धार्मिक पर्यटकीय स्थल बनाउने भनेको छैन । तेस्रो कुरा, पाथिभरा जाने अहिलेको जुन बाटो छ त्यो बाटो भत्काउने भत्काउने वा अवरुध्द गर्ने कुरा पनि छैन । यसले पैदल जाँदा बाटोमा गरिने रिति परम्परा र संकृतिको पुजा गर्न कुनै अवरोध पुग्ने देखिदैन। बरु भोलि आफ्नो पहिचान र संस्कतिको रक्षा, विकास र विस्तारमा यसले योगदान नै दिने देखिन्छ ।
निर्माण पक्षले स्थानीयको माग सम्बोधन गर्न केवलकारले निर्माण गर्ने, नयाँ सम्भावना र ब्यासायिक परियोजनामा स्थानियलाई पाथमिकता दिने, स्थानिय नागरिकलाई ब्याबसायी बनाउने केवलकारलाइ चाहिने कर्मचारी त्यहिबाट लिने , केवलकार सञ्चालन गर्नको लागि चाहिने प्राविधि जनशक्तिलाई पनि प्राबिधिक तालिम दिई योग्य बनाएर रोजगारी दिने, अहिले भरियाको काम गरेर जीवन यापन गरिरहेका नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्ने, पर्यावरणीय सुरक्षाको लागि राज्यले तय गरेका मापदण्ड पुरा गर्ने र पर्यावरणीय सुरक्षाको लागि वृक्षारोपण लगायतका काम गर्ने आयोजना स्थलका नागरिक मात्र हैन समग्र जिल्लाको आर्थिक र सामाजिक बिकासको लागि मुक्कुम्लुङ (पाथीभरा) केवलकारलाई आधार बनाई अन्य ‘स्थानीय उत्पादन प्रवर्द्धन र रोजगारी श्रजना गर्ने’ परियोजना सञ्चालन गर्ने योजना सहित सार्वजनिक प्रतिवध्दता जनाई सकेको छ ।
बिकास आफैमा रुपान्तरण हो । आज जे जँहा छ त्यही राखेर विकास संभव पनि छैन । अझ संस्कृति त परिमार्जन हुँदै समकालिन समाजमा अनुकुलित हुन्छन् । त्यसो हुन नसके मिलाएर जानुको विकल्प छैन। सबै समुदायका आ-आफ्नै आस्था, संस्कार र संस्कृति हुन्छन् । हामीले त्यसलाई सम्मान गर्दै त्यसको रक्षा र विकासका लागि बढीभन्दा बढी नागरिकलाई आफ्नो आस्थाको केन्द्रमा पुग्न सहज बातावरण बनाउनु पर्छ । यसको लागि मुख्यत: सरकारले सकारात्मक भुमिका खेल्नु पर्छ । त्यो देशभक्तिलाई बलियो बनाउने र अर्थतन्त्रको उच्चतम बिकासको आधार हो।
आज नागरिकमा तिव्र विकासको जुन आकांक्षा छ त्यसलाई हाँसिल गर्न लगानी मैत्री वाताबरण श्रृजना गर्नु पर्छ । यस विषयलाई लिएर जसरी सामाजिक सञ्जालमार्फत बिदेशमा वा स्वदेशमा बसेर जातिय, धार्मिक, सांस्कृति द्वेश फैलाउने खालका जुन बिषय प्रसारित हुने गरेका छन् यसलाई सरकारले नियन्त्रण र नियमन गर्न जरुरी छ । केवलकार निर्माणको विषयमा जसरी सत्य र तथ्यभन्दा पर रहेर यसलाई जातिय, धार्मिक र राजनीतिक रङ्ग दिन खोजिदै छ यसमा आम बौद्दिक समुदाय, नागरिक समाज र सञ्चार क्षेत्रले सचेतता पूर्वक भ्रम चिर्न भुमिका खेल्नु पर्दछ । हामीमा सत्यको अन्वेषण नगरी स्वार्थ केन्द्रीत सामाजिक सञ्जालले निर्माण गरेको नकारात्मकताको भर गर्ने जुन परिपाटी विकास भएको छ त्यसलाई बदल्न, सत्यको खोज गर्न र त्यसलाई स्थापित गर्न आवश्यक छ।