काठमाडौं । पाथीभरा (मक्कुम्लुङ) केवलकार निर्माण सुरु भएसँगै पूर्वी पहाड ताप्लेजुङ अहिले विवादमा छ । केवलकार बनाउन दिने पक्ष र बनाउन हुन भन्ने पक्षका कारण ताप्लेजङ विवादमा आएको हो ।
२०८१ साल कार्तिक २३ गते केवलकार निर्माणका लागि शिलान्यास भएसँगै ताप्लेजुङ तनावग्रस्थ बन्दै आएको छ । केवलकार निर्माण हुँदा किरात धर्मावलम्बीको पवित्र धार्मिक स्थल मासिने भन्दै केही समूह विरोधमा उत्रेका छन् भने केही भने यसबाट ताप्लेजङ आर्थिक, सामाजिक तथा भौतिक रुपमा सम्पन्न हुने भन्दै समर्थनमा खुलेर लागेका छन् ।
विरोधीको निशानामा ग्लोबल आईएमई बैंक
पछिल्लो समय पाथीभरा केवलकार विरोधीको निशानामा ग्लोबल आईएमई बैंक परेको छ । यस परियोजनासँग सम्बन्धित विवादका क्रममा ग्लोबल आईएमई बैंक र यसको अध्यक्ष चन्द्रप्रसाद ढकालमाथि केही समूहहरूले लक्षित आक्रमण सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बिहीबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै यस्तो आक्रमणलाई गलत भन्दै, कसैको उक्साहटमा त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
पौडेलले आफ्नो फेसबुकमा लेखेका छन्, ‘ पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक–ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गÞलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’
ग्लोबलआइएमई बैंक नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त क वर्गको बैंक हो । नियामकको उच्च तहको कर्मचारीका नाताले कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलबाट यस्तो स्ट्याटस आएको हो ।
पाथिभरा केवलकार परियोजना नेतृत्व आइएमई समूहले गरेको छ । यस समूहको अध्यक्ष नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । केवलकार निर्माण गर्नु हुँदैन भन्ने पक्ष अहिले ढकाल र ग्लोबलआइएमई बैंक विरुद्ध आक्रामक रवैयामा प्रस्तुत भएका छन् । पाथिभारा केवलकारको विरोधमा रहेका केही जातीय पहिचानवादीहरुले केबलकार आईएमई ग्रुमले बनाउन लागेको भन्दै ढकाल र उनी नै अध्यक्ष रहेको ग्लोबल आईएमई बैंक विरोधी गतिविधिलाई सक्रिय बनाइरहेका छन् । केवलकारका विरोधीहरुले ग्लोबल आईएमई बैंकको शाखा तोडफोड गर्नुका साथै बैंक बहिष्कार अभियान चलाएका छन् । यस्तो गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुमा त्रास पूर्ण स्थिति सिर्जना गरेको छ । भने ग्राहकलाई पनि बैंक जाँदा कुनै भवितव्य घट्ने हो कि भन्ने डरमर्दो स्थिति पैदा गरेको छ ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल भए पनि यो उनको निजी सम्पित्ति हैन । ग्लोबल आईएमई बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा सूचीकृत सार्वजनिक कम्पनी हो । यसमा ४८.७६ प्रतिशत सर्वसाधारणको शेयर छ । बैंकमा करिब ३ लाख जनताको शेयर लगानी छ । अर्थात बैंकको करिब आधा सम्पत्तिमा जनताको नाममा छ ।
बैंकले अहिले ५ खर्ब रुपैयाँ निक्षेप संकलन गरी परिचालन गरिरकेको छ । यो बैंकका खातावालहरुको बचत रकम हो । यस्तै बैंकसँग चल र अचल गरी साढे ६ खर्ब रुपैयाँको सम्पत्ति छ । उक्त बैंकमा ढकाल समेत सबै लगानीकर्ताको गरी कुल लगानी ३८ अर्ब रुपैयाँ मात्र रहेको छ ।
प्रतिरोधमा निजी क्षेत्र
सार्वजनिक कम्पनी र उम्दा व्यवसायीका विरुद्ध संगठित रुपमै आक्रममा हुन थालेपछि नीति क्षेत्रहरुका छाता संगठनहरु पनि यसको प्रतिरोधमा उत्रेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनामाथि हुने विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा व्यक्त गरेका छन् । यस्तै नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, उद्योग वाणिज्य संघ मोरङले पनि केबलकार निर्माणमा भईरहेको अवरोध प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । परियोजनाको विरोधमा हुने बन्द, हडताले पूर्वाधार विकासका लागि आवश्यक लगानीमैत्री वातावरणलाई कमजोर बनाउने उनीको धारणा छ ।
यस्ता गतिविधिले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने भएकाले सम्बन्धित सरोकारवालाहरुलाई गम्भीर बन्न उनीहरुले आग्रह गरेका छन् ।
पाथीभरा (मक्कुम्लुङ) केवलकार परियोजना
पाथिभरा (मक्कुम्लुङ) नेपालको पूर्वी भाग, ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो । यो मन्दिर विशेष गरी हिन्दू तथा किरात धर्मावलम्बीहरूको लागि उच्च आस्थाको केन्द्र मानिन्छ । पाथीभरा दर्शन केबलकार कम्पनीलाई केवलकार बनाउन सरकारले २०७५ पुस १६ गते वन क्षेत्रको जग्गा दिने निर्णय गरेसँगै यसले चर्चा पाउन थालेको थियो । तर, विभिन्न कारणले गर्दा यो परियोजना लामो समयसम्म स्थगित रह्यो । अहिले केवलकार निर्माणका लागि बटम स्टेशन निर्माण सुरु गरेसँगै कोशी प्रदेश तनावग्रस बन्दै आएको छ । केवलकार विरोधीहरुले कोशी प्रदेशका ९ जिल्लामा यातायात बन्द आह्वान गरे । यसबीच माघ २२ गते गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र केवलकार विरोधी संघर्ष समितिबीच ६ बुँदे सहमति भयो । यो सहमतिसँगै माघ १५ गतेदेखि जारी यातायात बन्द स्थगन भएको छ । हालका लागि माथिल्लो स्टेसनको निर्माण स्थगत भएको छ । माघ २७ गते विस्तृत वार्ता गर्ने भनिएको छ ।
परियोजनाको लाभ
पाथीभरा धार्मिक स्थल भए पनि बाटो असहज हुँदा वृद्ध, अशक्त मन्दिरसम्म पुग्न सकिरहेका छैनन् । केवलकार निर्माण भएपछि सबै उमेर समूहका व्यक्तिहरुले सहजै पाथीभराको दर्शन गर्न सक्नेछन् । थुलो पढेबाट पाथिभरा मन्दिरसम्म दर्शन गर्न पैदल यात्रा गर्नु पर्ने बाध्यता छ ।
यसका लागि करिब ५–६ घण्टाको पहाडको कठिन बाटोमा पैदल हिँड्नु पर्छ । केबलकार निर्माण पछि यो दुरी १५–२० मिनेटमा छोटिन्छ । यसको लम्बाई करिब ५.२ किलोमिटर लामो रहनेछ ।
केवलकार थुलो पढे (१८०० मिटर उचाई)बाट सुरु हुन्छ । र मन्दिर नजिकै मुकुम्लुङ (३७५० मिटर उचाई) मा पुग्छ ।
केवलकार निर्माण पछि धार्मिक पर्यटकमा वृद्धि हुने निर्माण पक्षको बुझाइ छ ।
पयर्टकको संख्यामा वृद्धि भएसँगै पर्यटन व्यवसाय, होटल तथा अन्य स्थानीय उद्योगहरूलाई प्रवद्र्धन मिल्ने छ । स्थानीय स्थरमा रोजगारी सिजर्ना भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।
परियोजनाको विरोध
धार्मिक पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले यस परियोजना सुरु गरिएको भए पनि केवलकारले पवित्रता खलबलिने चिन्ता व्यक्त गर्दै यसको विरोध भइरहेको छ ।
हिन्दू तथा किरात धर्मावलम्बीहरूका लागि पाथिभरा एक शक्तिपीठ मानिन्छ । परम्परागत रूपमा श्रद्धालुहरूले लामो यात्रा, तपस्या, र भौतिक कठिनाइ सहेर देवीको दर्शन गर्ने परम्परा रहेको छ । केवलकारले यी धार्मिक विधिहरूलाई छोट्याउने भएकाले कतिपय धार्मिक समूहहरूले विरोध गरेका छन् ।
किरात धर्मावलम्बीहरूको अनुसार, पाथिभरा क्षेत्र प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको आध्यात्मिक स्थल हो । केबलकारले यो पवित्रता भंग गर्ने डर स्थानीय समुदायले व्यक्त गरिरहेका छन् ।
केवलकार निर्माणका लागि ठूलो मात्रामा रूख काट्नुपर्ने तथा पहाड काट्नुपर्ने भएकाले वातावरणीय प्रभाव पर्नेमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । पाथिभरा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ, जसमा दुर्लभ वनस्पति तथा जीवजन्तु पाइन्छन् ।
निर्माणका क्रममा हुने वातावरणीय क्षतिका कारण वातावरणविद्हरूले आपत्ति जनाएका छन् । स्थानीय पानीका मुहानहरू मासिने खतरा रहेको छ । जसले आसपासका गाउँहरूलाई दीर्घकालीन असर पार्न सक्छ । पहाड काट्दा भू–स्खलन तथा प्राकृतिक विपत्तिको सम्भावना बढ्ने चिन्ता छ ।
हाल मन्दिरसम्म जाने भक्तजनहरूले बाटोमा होटल, लज, गाइड, घोडचढी, तथा अन्य सेवाहरू प्रयोग गर्छन् । केवलकारले ती व्यवसायलाई सिधै असर पार्न सक्ने भएकाले स्थानीय व्यवसायीहरूले विरोध जनाएका छन् ।
हाल हजारौं स्थानीय बासिन्दा पाथिभरा यात्रासँग सम्बन्धित व्यवसायमा आश्रित छन् ।
केवलकार बनेपछि ती व्यवसायहरू धराशायी हुन सक्ने र स्थानीयहरू बेरोजगार हुने सम्भावना भएकाले पनि यसको विरोध भइरहेको छ ।
‘नो केबलकार’आन्दोलन सामाजिक सद्भाव र आर्थिक विकासमाथिको प्रहार कि पहिचानको रक्षा ?
पाथिभरा केवलकार परियोजनामाथि विरोधः लगानीमैत्री वातावरण विथोलिने निजी क्षेत्रको धारणा