बसाइँसराइले बाँझिएको जग्गामा ओखरखेती

गलकोट । बागलुङको तित्याङमा ओखर खेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय  रोपनी जग्गामा ओखरखेती थालेको छ ।

नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कु-काठ हटाउने अभियानसँगै सुक्खा फलफूल खेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखर खेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए ।

तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु १० लाख र स्थानीयको रु आठ लाख लगानीमा एक सय ४० रोपनी जग्गामा दुई हजार २५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको १२ लाख र स्थानीयको आठ लाख गरी २० लाखमा जुरेढुङ्गा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको वडाअध्यक्ष थापाले बताए ।

उनका अनुसार यस वर्ष रु २० लाखबाट बिरुवा खरिद, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन् । जुरेढुङ्गाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखर खेती थालिएको छ । सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूल खेती राम्रो हुने भएकाले कु-काठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

पछिल्लो समय बसाइँसराइले गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जङ्गल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुङ्गा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताए । एक हजार ६०० मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट बिरुवा ल्याएर रोपिएको नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिए ।

प्रतिबिरुवा तीन सय २० मा बिरुवा ल्याइएको थियो । जुरे ढुङ्गाका किसानहरूले परम्परागत खेती गर्दै आएकामा नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न थालेपछि सामूहिक रूपमा ओखरखेती गर्न थालेका हुन् । यस वर्ष जुरे ढुङ्गा कृषक समूहलाई एक हजार ५०० बिरुवा हस्तान्तरण गरेर ओखरखेती विस्तार सुरु गरिएको कृषि प्राविधिक बरुवालले बताए ।

उपप्रमुख खड्काले वडा नं ९ का किसानले सुन्तला र तरकारीसँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखरका थप बिरुवा वितरण गरिने बताए । -रासस

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार