काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले प्रकाशन गरेको पुस मसान्तसम्मको विवरणअनुसार उक्त नाफा आर्जन गरेको हो ।
प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्य गरी कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुमा समेत ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको प्राधिकरणले जनाएको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको करअघिको सञ्चालन नाफा ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरु निरन्तर नाफामा छ । आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाा नाफा कमाएको थियो । आर्जित नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ ।
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।
खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्व ४९ करोड रुपैयाँ खर्च भएको छ ।